Fri. Apr 26th, 2024

काठमाडौं, बैशाख २ । प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘मनले मनलाई छुन्छ’ का निर्माता तथा अभिनेता विरेन श्रेष्ठ मंगलबार निकै खुसी मुडमा भेटिए । यसको कारण थियो, आफ्नो चलचित्र हेरेपछि दर्शक रुनु । विश्वज्योति सिनेमा हलमा भेटिएका विरेन भन्दै थिए, ‘नामजस्तै चलचित्रले दर्शकको मन छुन सफल भएको छ । कतिपय दर्शक त हलबाट आँसु पुछ्दै निस्केको पाइयो ।’
विरेन अभिनीत चलचित्र ‘मनले मनलाई छुन्छ’ शुक्रबारबाट देशका ४५ सिनेमा हलामा प्रदर्शन भइरहेको छ । अधिकांश सिनेमा हलमा दर्शक बढ्दै गएको विरेनले बताए । ‘म निकै खुसी छु’ विरेनले भने, ‘पहिलो दिनभन्दा दोब्बरले दर्शक बढिरहेका छन् । नयाँ वर्षका दिन मात्र नभई मंगलबार पनि मनले मनलाई छुन्छ चलेका हलमा दर्शक भरिभराउ थिए ।’
‘मनले मनलाई छुन्छ’ निर्देशक स्व. शिव रेग्मीको अन्तिम चलचित्र हो । शिव रेग्मीजस्ता सफल निर्देशकको चलचित्र भएकाले पनि ‘मनले मनलाई छुन्छ’ ले दर्शक तान्न सफल भएको विरेनले दाबी गरे । अरू नेपाली चलचित्र नचलिरहेका अवस्थामा आफ्नो चलचित्रले दर्शक पाएपछि मख्ख भएका विरेनले भने, ‘स्वं. शिव रेग्मीको सुख–दुःखपछि  मनले मनलाई छुन्छ अर्को सफल चलचित्र बनेको छ । सोमबार र मंगलबारकै जस्तो रफ्तारमा दर्शक बढ्दै गए शिव रेग्मीको आत्मले समेत शान्ति पाउने छ ।’ चलचित्र निर्माण भइरहेकै बेला निर्देशक रेग्मी आफैँले पनि ‘मनले मनलाई छुन्छ’ आफ्नो विशेष चलचित्र हुने बताएको स्मरण गर्दै विरेनले भने, ‘मर्नुअघि शिव रेग्मीले जेन्नुभएको थियो त्यो अहिले प्रमाणित हुनेक्रममा छ ।’ प्रेम–वियोग तथा सुखदुःखजस्ता विषयमा चलचित्र निर्माण गर्न सिपालु रेग्मीले ‘मनले मनलाई छुन्छ’ पनि दर्शकको मन छुने बनाएर गएको विरेनको भनाइ छ ।
‘चलचित्र मनले मनलाई छुन्छ हेरेर हलबाट निस्किने प्रत्येक दर्शकले शिव रेग्मीको नाम लिने गरेका छन्’ विरेनले भने, ‘चलचित्र हेर्दाहेर्दै दर्शकको आँखा रसाएको पनि पाएँ ।’ उनका अनुसार कतिपय दर्शक चलचित्रको कथाले छोएपछि आँसु झार्ने गरेका छन् भने कुनैले शिव रेग्मी सम्झेर । पारिवारिक पे्रमकथा उनेको चलचित्र ‘मनले मनलाई छुन्छ’ मा विरेन र गरिमा पन्तका अलावा सुमन सिंहको पनि मुख्य अभिनय छ । चलचित्रको निर्माण सुनील सिटौला र विरेनले संयुक्त रूपमा गरेका हुन् ।

%d bloggers like this: