Sat. Apr 27th, 2024

अभिनेता आर्यन सिग्देल दोहोरो चटारोमा परेका छन् । उनलाई फिल्मको प्रमोसन र विवाहको चटारोले पिरोलेको छ । वैशाख दोस्रो हप्ता उनी अभिनीत र निर्मित फिल्म रिलज हुँदै छ भने पहिलो हप्ता पे्रमिका सपना भण्डारीसँग विवाह गर्ने साइत जुरेको छ । तर, यतिबेला उनलाई अप्ठ्यारो परेको छ, फिल्मको प्रमोशनका लागि दौडभधुप गर्नु कि विवाहको तारतम्य मिलाउन जुट्नु । विवाहले फिल्मको व्यापारमा असर नपर्नेमा भने उनी ढुक्क छन् । मंगलवार राजधानीमा आयोजित फिल्मको अडियो विमोचनमा उनले भने, ‘मेरा फ्यान सानो बालकदेखि आन्टीसम्म छन् । त्यसैले विवाहले फिल्मको व्यापारमा असर गर्दैन ।’
आर्यन विवाहको नजिक पुग्दा सोही फिल्मकी अभिनेत्री नम्रता श्रेष्ठसँगको निकटतालाई लिएर पनि चर्चा चलेको थियो । फिल्म ‘मेरो एउटा साथी छ’मा देखिएकी साथी नम्रतालाई आर्यनले हेरविचार गरेपछि त्यस्तो चर्चा भएको थियो । लगातार सुटिङका कारण अस्वस्थ नम्रतालाई बाथरुम पुग्न पनि आर्यनले सघाएका थिए । त्यसैगरी नम्रताले एक्लो आर्यनलाई केयरिङ गर्ने मान्छे आउन लागेकोमा खुसी प्रकट गरिन् । सहयोगका लागि खुला अपिल गरिन्, ‘आर्यनलाई आवश्यक पर्छ भने सपिङका लागि सघाउँछु भनेकी छु । जन्ती पनि जानेछु ।’
दिनेश राउत निर्देशित प्रेमकथामा आधारित फिल्मको मंगलवार अडियो रिलिज भएको हो । यसअघि नै सार्वजनिक एउटा गीतले स्रोताको मन जितिसकेको छ । फिल्म निर्माणमा आर्यनसँगै सुवास गिरीले सहकार्य गरेका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा छुल्ठिम गुरुङले मुख्य भूमिकामा अभिनय गरेकी छिन् ।

%d bloggers like this: