Sat. Apr 20th, 2024

काठमाडौं, २७ चैत । नेपाली सांगीतिक क्षेत्रमा अर्का गायक तथा संगीतकारको उदय भएको छ । यसअघि लोक गायनमा रमाउँदै आएका गायक टिबी पाख्रिन यसपटक आधुनिक गीति एल्बम ‘मेरो प्रयास’ लिएर श्रोतामाझ आएका छन् । पूर्वेली जुनतारा म्युजिक प्रालिले बजारमा ल्याएको उक्त एल्बमको मंगलबार राजधानीमा एक समारोहबीच कवि तथा राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइलाले सार्वजिक गरे । एल्बम सार्वजनिक गर्दै कवि ब्याकुलले भने, ‘टिबी नेपाली सांगीतिक क्षेत्रमा उदयमान प्रतिभाका रुपमा देखिएका छन् ।’ गायक तथा संगीतकार टिबीको ‘मेरो प्रयास’ पहिलो एकल एल्बम हो । एल्बममा मैले तिमीलाई, माया बसेपछि, बास भयो, तिमी त मेरै र बाँच्न पनि जस्ता पाँच वटा गीत छन्, जसमा मैले तिमीलाई र माया बसेपछि गीतलाई रिपिट गरिएको छ । एल्बममा कृष्ण घिमिरे, सशील भट्ट, टिबी पाख्रिन, प्रियजन राई र विश्व कौसलको शब्दरचना रहेको छ । गायक तथा संगीतकार टिबी आफ्नो पहिलो एल्बमबा आशावादी छन् । उनले भने, सकेसम्म मिहिनेत गर्ने प्रयास गरेको छु । सांगीतिक क्षेत्रमा आफूलाई जमाउने यो मेरो प्रयास हो । केही गीत लोकप्रिय भइसकेकाले पनि आफू एल्बमबाट आशातित रहेको उनले सुनाए । नेपाली गीतसंगीतको प्रवद्र्धन गर्ने उद्देश्यले दुई वर्षअघि पूर्वेली जुनतारा म्युजिक स्थापना भएको हो । जुनतारा म्युजिकका प्रोपाइटर प्रियजन राईले भने, ‘नेपाली सांगीतिक क्षेत्रमा प्रतिभा भएका कलाकारलाई अवसर दिन म्युजिक कम्पनी स्थापना गरेको हुँ ।’ यस कम्पनीबाट पहिलोपटक गायिका मेनुका राईको एल्बम ‘१, २, ३’ श्रोतामाझ आएको थियो । सो एल्बमका गीत अहिले विभिन्न एफएम रेडियोमा चर्चामा छन् ।

%d bloggers like this: