Fri. Apr 19th, 2024

काठमाडौं, चैत १६ । लोकप्रिय गायिका मञ्जु महतको माइक्रोबसले च्यापेर यातनापूर्ण मृत्यु भएपछि कलाकारहरु शोकमा डुबेका छन् । सोही घटना मिलाउन महाराजगञ्ज प्रहरी चौकी पुगेका कलाकारका प्रतिनीधिलाई डिएसपी प्रभु ढकालले दुव्र्यबहार गरेको कलाकारले बताएका छन् ।
पीडित पक्षले यातयात ब्यवसायीले मानवीय ब्यबहार नदेखाएर पैसाको धाक लगाएको बताएपछि डिएसपी प्रभु ढकाल दुब्र्यबहारमा उत्रिएको वार्तामा संलग्न कलाकारले बताएका छन् । मिलाउनका लागि संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने डिएसपीले उत्तेजित भएर भनेका छन्, ‘तपाईँ पनि तयारीका साथ सडकमा आउनुहोस् हामी पनि तयारीका साथ सडकमैं आउछौं ।’ मनोरञ्जन संसार डटकमलाई उपलब्ध अडियो टेपमा उनले कलाकारसँग ‘भीडन्त’का लागि तयार रहेको ‘चेतावनी’को शब्द बोलेका छन् ।
कलाकारको नेतृत्व गर्दै वार्ताका लागि लोक दोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष चन्द्र शर्मा, गायक हेमन्त शर्मा, गायक दुर्गा रायमाझी, गायिका कोमल वली, संगीत उद्योग संघका महासचिव वसन्त थापा, लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष शीव हमाल, गीतकार राजेन्द्र सेढाइलगायत र पीडित परिवारका सदस्य महाराजगञ्जस्थित प्रहरी चौकी पुगेका थिए ।
ढकालले गरेको दुब्र्यबहार थाहा पाएपछि गृहमन्त्री बामदेब गौतमले जसरी पनि मृतकलाई न्याय दिलाउन आइजिपी उपेन्द्रकान्त अर्याललाई निर्देशन दिएका छन् । कलाकारले डिएसपी ढकाल यातायात व्यवसायीसँग मिलेको हुनसक्ने शंका गरेका छन् ।
क्षतीपूर्ति नपाएसम्म शव नउठाउने भन्दै कलाकारहरु आन्दोलनमा उत्रिएका छन् । हिजो एक हजार भन्दा बढी कलाकारले ग्रान्डी हस्पिटलमा दोषीलाई सख्त कारवाही र क्षतीपूर्तिको माग गर्दै धर्ना दिएका थिए । आज बिहानै ८ बजे कलाकारहर ग्रान्डी हस्पिटल पुगिसकेका छन् ।
आफ्नो माग पूरा नभए कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने लोकदोहोरी प्रतिष्ठानले जनाएको छ ।
मञ्जुको मृत्युपछि  उनका दुई नाबालक छोराछोरीका भविष्यका लागि ठक्कर दिने माइक्रोसँग ३० लाख क्षतिपूर्तिको माग गरेका छन् । त्यसैगरी सरकारसँग मञ्जको दुर्घटना भएको मार्गलाई मञ्जु महत मार्ग घोषणा गर्न माग गर्ने निर्णय पनि गरेका छन् ।

%d bloggers like this: