Fri. Apr 19th, 2024

काठमाडौं, १५ चैत । दिउँसो ३ बजे मृत घोषणा गरिएकी गायिका मञ्जु महतको शव अस्पतालमै छ । यातायात व्यवसायिक संघ र लोक तथा दोहोरी गीत प्रतिष्ठानबीच क्षतिपूर्तिबारे कुरा नमिलेपछि शव उठ्न नसकेको हो । प्रतिष्ठानकी प्रथम उपाध्यक्ष रहेकी स्कुटरमा सवार मञ्जुलाई बिहीबार दिउँसो राजधानीको गल्कोपाखामा माइक्रोले ठक्कर दिएपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा शनिबार ग्रान्डी अस्पतालमा निधन भएको थियो ।

लोक तथा दोहोरी गीत प्रतिष्ठानले मृतक परिवारलाई राहत स्वरुप ३० लाख रुपैयाँ माग गरेको छ । तर, यातायात व्यवसायी संघका जिम्मेवार व्यक्ति नआएपछि करिब २ घण्टाको छलफलमा निस्कर्षविहिन भएको लोक कलाकार हेमन्त शर्माले बताए । उनले वार्ता नमिलेसम्म शव नउठाउने बताए । जसरी पनि मृतकको परिवार राहत पाउनु पर्ने प्रतिष्ठानको माग छ । अहिले पनि मञ्जुको परिवारलाई राहत उपलब्ध हुनुपर्ने माग गर्दै सय भन्दा बढी कलाकार ग्रान्डी अस्पतालमै धर्ना दिएर बसेका छन् । साथै, उनीहरुले मञ्जु दुर्घटना भएको स्थानलाई ‘मञ्जु स्मृति मार्ग नामाकरण’ हुनपर्ने समेत माग गरेका छन् । प्रतिष्ठानका चन्द्र शर्माले भने, ‘यातायात व्यवसायी संघले आइतबार ११ बजे वार्ता गर्ने भनेको छ । त्यसपछि पनि वार्ता मिलेन भने आन्दोलनमा उत्रने छौं । साथै आइतबार बिहान साढे ८ बजे टोखास्थित ग्रान्डी अस्पताल परिसरमै प्रतिष्ठानले पत्रकार सम्मलेन गरेर आन्दोलन घोषणा गर्ने चन्द्र शर्माले बताए ।

%d bloggers like this: