Tue. Apr 23rd, 2024

काठमाडौं, चैत १३ । बलिउड धेरै नेपाली कलाकारको सपना हो । यसका लागि धेरैले प्रयास गर्छन् । अफर नै आयो भने त भाग्यको कुरा भइगयो । अभिनेता विल्सनविक्रम राई बलिउड भित्रिने दैलोमै पुगेर फर्केका छन् । अर्थात्, उनले बलिउडको दैलो मानिने भारतीय टेलिफिल्ममा काम गर्ने अवसर पाएर पनि लत्याएका छन् । चर्चित भारतीय निर्देशक आशुतोष गोवारिकले निर्देशन गर्ने टेलिफिल्ममा उनलाई अफर गरिएको थियो । हिमाञ्चल प्रदेशको शेर्पा युवकको भूमिकामा गरिएको अफर व्यस्तताका कारण नकार्नुपरेको विल्सनले बताए । उनले भने, ‘फिल्म ‘अधकट्टी’को सुटिङ चलिरहेको छ, त्यसपछि ‘तक्मे बुढो लस्ट इन लन्डन’का लागि साइन गरिसकेको छु । यसकारण उक्त अफर स्विकार्न सकिनँ ।’ यही अवधिका लन्डनका सात वटा कार्यक्रम र मलेसियाको कार्यक्रमका लागि पनि एडभान्स लिइसकेको उनले बताए । उनले भने, ‘एक हप्ताजति सार्न मिल्ने भए यता मिलाउँछु भन्ने सोचेको थिएँ, तर उहाँहरूले २८ मार्चमा दिल्ली पुगिसक्नुपर्ने बताउनुभयो ।’ यताको व्यस्तता र उताको अफरलाई लिएर धेरै सोचेको उनले बताए । यहाँ काम गर्ने प्रतिबद्धता जनाइसकेकाले बीचमै छाडेर जान नसकिने हुनाले अफर गुमेको बताए । यो उनको भाग्य वा दुर्भाग्य के होला ? उनले ठट्टा गरे, ‘त्यही त म छुट्याउन सकिरहेको छैन ।’
शुक्रवारबाट

%d bloggers like this: