Mon. May 23rd, 2022

 अर्जुन कुमार, गायक तथा निर्माता

म जिन्दगीमा कहिल्यै पछाडि फर्केर हेर्दिनँ । पछाडि फर्किन थाल्यो भने अगाडि बढ्ने बाटो देखिन्नँ । बरु, अहिले के भइरा’छ त्यसमै ध्यान केन्द्रित गर्छु । ‘भविष्य बनाउन वर्तमान सपार्नुपर्छ’ भन्ने मेरो मान्यता हो । विगतमा रुमलिनुलाई समय बर्बाद गर्ने मेलो ठान्छु म । म नुवाकोटको मान्छे, नुवाकोटमै लेखपढ गरियो । चित्र पनि कोर्थें । देवीदेउता र राजारानीका तस्बिर बनाउँथे प्रायः । त्यो बेला रङ–सङ पाउनु त उस्तै हो, चकैले स्केच कोरिन्थ्यो । नाटक पनि खेल्थेँ । सडकनाटक गर्दै गाउँ–गाउँ डुलेको अझै सम्झिन्छु । गीतिनाटक गरेकै कारण मलाई गायनमा पनि रस बस्यो । गीत गाउन थालेँ । एसएलसी पास गरेपछि त्रिशुलीमै ‘अर्जुन आर्ट’ नामक संस्था खोलेर व्यवसाय गर्न थालेँ । मेरो संस्थाले स्ट्याम्प बनाउनेदेखि फ्लेक्स, होर्डिङ, साइन बोर्ड आदि बनाउने काम गथ्र्याे । म चाहिँ चित्रहरू कोरेर बेच्थेँ । त्यो बेला मेरो ‘थ्री गल्र्स एन्ड अ रिक्सावाल’ नामक चार बाई चार वर्गाकारको स्केच २२ हजार रुपैयाँमा बिकेको थियो । त्यो पैसाले मैले त्रिशुलीमा जग्गा जोडेको थिएँ । अर्जुट आर्टबाट राम्रै आम्दानी भइरहेको थियो । सानै उमेरमा कामधन्दा सम्हालेका कारण मलाई आर्थिक संकट खासै कहिल्यै परेन । समस्या त बरु २०४९ सालमा गीत रेकर्ड गराउँदा भोगेँ । खल्तीमा पैसा जम्मा हुन थालेपछि आफ्ना सपना पूरा गरौँ भन्ने लागेर म गीत गाउन काठमाडौँ आएँ । त्यो बेला रेडियो नेपाल र नेपाल टेलिभिजनमा दुई–चार जना संगीतकर्मीको हालीमुहाली थियो । उनीहरू नयाँलाई खासै चान्स दिन्थेनन् । यो थाहा पाएकाले मैले चाहिँ समयमै बुद्धि लगाएँ । रेडियो नेपालमा स्वर परीक्षा पास गरेर गीत रेकर्ड गराउने आधिकारिक बाटो समाएँ । यसरी मेरो पहिलो गीत ‘घर त मेरो’ रेकर्ड भयो । फ्लेक्स बोर्डका लागि अधिकांश ‘अर्डर’ काठमाडौँबाट आउँथे । त्रिशुली र काठमाडौँ ओहोरदोहोर गरिराख्नु परेकाले २०५३ सालमा म काठमाडौँ आएँ । संस्था पनि यतै सारेँ । गीत–संगीत, व्यवसाय र चित्रकलाको जिन्दगी चलिराथ्यो । अनेक थोकमा हात हालेकाले मेरो चित्रकारिता भने अलि सुस्तायो । चित्र कोरेर धन कमाउनु नपरेकाले पनि मैले यसलाई ‘हबी’ मै सीमित राख्ने निधो गरेँ । अहिले पनि फुर्सदको बेलामात्रै क्यानभास रंगाउने गर्छु । सानो छँदा नाटक खेलेकाले मलाई फिल्मबारे अलि–अलि ‘आइडिया’ थियो । साथी दीपेन्द्र के खनाल त्यो बेला जापानमा थियो । उसले एकदिन ‘फिल्म पढेको छु, नेपाल आएर के गर्ने होला अब ?’ भनेर मसँग सल्लाह माग्यो । मैले ‘तिमी फिल्म बनाऊ, म पैसा हाल्छु नि’ भन्दिएँ । ऊ नेपाल आएपछि ‘द युगदेखि युगसम्म–२’ बनायौँ पनि । तर, फिल्म सुपरफ्लप भयो । मेरो ३० लाखजति पैसा डुब्यो । ‘व्यापारी हुँ, नाफाघाटा सहनैपर्छ’ भनेर मन बुझाएँ । तर, दुई–तीन वर्षसम्म फिल्ममा लगानी गर्ने हिम्मत आएन । तर, ‘रिस्क नलिई केही हुन्न’ भन्ठानेर फेरि फिल्म बनाउन तम्सिएँ । ‘चपली हाइट’ ले मेरो विश्वास तोडेन पनि । अहिले ‘फिटकिरी’ बनाएको छु । यो पनि चल्छ भन्नेमा लगभग ढुक्क छु । म आफ्ना फिल्मका गीतहरूको कम्पोजिसन आफैँ गर्छु । सोलो एल्बम पनि निकाल्दै छु । अहिलेसम्म मेरा चारवटा एल्बम बजारमा आइसके । सुरुका गीतहरू खासै चलेनन् । तर, ‘गीत भनेको आफ्ना लागि गाउने हो’ भन्ठानेर मैले गायनलाई निरन्तरता दिइरहेँ । ‘थाहै नपाई’, ‘रमाइलो छ यो साँझ’ जस्ता गीत चलेपछि चाहिँ स्रोताका लागि पनि गाउनुपर्ने रै’छ भन्ने लाग्यो । अहिले मार्केटको टे«न्ड बुझेर गीत निकाल्ने सुरमा छु । ‘मान्छेले दुइटा डुंगामा खुट्टा राख्नुहुन्न’ भन्छन् । होला पनि । तर, म दुई होइन, तीन–तीन वटा डुंगा (चित्रकारिता, गायन र फिल्म निर्माण) को सवारी गरिरहेको छु । यस्तो हुँदा पनि म डुबेको छैन । अहिलेसम्म बर्बाद भए
को छैन । मान्छेले ब्यालेन्स गर्न जान्यो भने दुई त के जति वटा डुंगामा खुट्टा राखे पनि अघि बढ्न सक्छ भन्ने मेरो विश्वास छ ।

शुक्रवारबाट