Fri. Apr 26th, 2024

काठमाडौ, फागुन २६ । संविधान सभाको निर्वाचनमा दुई ठाउँबाट जितेका पूर्व प्रधानमन्त्री माधव नेपालले आफूलाई कलाकारले जिताएको बताएका छन् । शनिवार राजधानीमा आयोजित एक गीति संग्रहको बिमोचनमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘मलाई कलाकारले जिताएका हुन्, बन्दना मैनालीले भोजपुरीमा गाएर रौतहटका मतदाताका मन जितिन् । उनको स्वर सुनेर धेरैजना लठ्ठ भए ।’ त्यसैगरी बद्री पंगेनीले पनि गीत गाएर आफ्नो पक्षमा भोट बढाएको उल्लेख गरे ।
सूर्य खत्री ‘घायल’को एकल रचना तथा टी भण्डारीको एकल संगीत रहेको गीति संग्रह ‘पल पल’को बिमोचन समारोहमा यस्तो बताएका हुन् । उनी सोही कार्यक्रमकै लागि जनकपुरबाट काठमाडौं आएका थिए । फेरि कार्यक्रमस्थलबाटै विराटनगरतिर लागेका थिए । गीतसंगीत तथा सािहत्यमा ठूलो शक्ति हुने बताउँदै संसदमा पनि हप्ता एक दिन संगीत र साहित्यका कार्यक्रम हुुनुपर्ने माग गीतकार डा. कृष्णहरी बरालले गरे । उहिले पनि राजारजनैटाले आफ्नो राज्य संचालनमा रहेको कमजोरी जान्न साहित्यकारको कविता र गीतकारको गीत सुन्ने गरिएको बताउँदै उनले त्यस्तो माग गरेका हुन् । उनको कुरामा सहमति जनाउँदै पूर्वप्रधानमन्त्री नेपालले नेतालाई चिन्तामुक्त गराउने सही उपाय हुनसक्ने बताए । गायकद्वय दीप श्रेष्ठ र प्रेमध्वज प्रधानलाई विशेष सम्मान गरिएको कार्यक्रममा गीतकारकी आमालाईै पनि सम्मान गरिएको थियो ।
कलाकार मनोज गजुरेलले सबैलाई हँसाए । तर, उनको भावी नेपालको भिजन समेटिएको ब्यंग्य कविता सुनेर पूर्वप्रधानमन्त्री नेपाल भने भावुक बनेर आँखाबाट आशु खसाए ।

%d bloggers like this: