Sat. Oct 26th, 2024

काठमाडौं, फागुन २३ । भनिरहनुपर्ने कुरो होइन, तर प्रसंगबश भन्नुपर्छ, विल्सनविक्रम राई हाँस्य कलाकार हुन् । उनी स्टेजमा उक्लेपनि, फिल्ममा देखिएपनि हसाउँछन् । उनको मुख्य भूमिका रहेको फिल्म ‘अधकट्टी’मा उनको ‘रुवाउने’ रोल हुने कुरै भएन । तर, शुक्रवार फिल्म ‘अधकट्टी’ शुभमुहूर्त’मा भने उनले दुःख पोखे । 

पछिल्लो समयका ब्यस्त अभिनेता उनले आफूविरुद्ध कसैले बोलेका एकपक्षीय कुरा सञ्चारमाध्याममा आएकोमा गुनासो गरे । ‘धेरै पैसा माग्ने र भाउ खोज्ने’ जस्ता कुरा थाहा पाएको तर त्यस्तो आफूले महशुस नगरेको फिल्मका निर्माता प्रदीप उदयले बताएपछि यस्तो बताएका हुन् । विल्सनले भने, ‘मैले फिल्मबाट लिएको पारिश्रमिक फिल्म सकिदा सकिसक्छ, तर यही क्षेत्रमा टिक्नका लागि पारिश्रमिकलाई भन्दा कामलाई महत्व दिइरहेको छु ।’ उनले यही फिल्मका लागि विकास आचार्य निर्देशित ‘नाइँ नभन्नु ल २’ गुमाएको पनि बताए ।
पत्रकार सुब्रत आचार्यले पहिलोपल्ट निर्देशन गर्न लागेको फिल्म कमेडी बेशमा बन्ने बताइएको छ । पढाइ बिगारेको बेरोजगार युवाको कथामाथि बन्ने फिल्ममा विल्सनका अलवा मुख्य भूमिकामा अशिष्मा नकर्मी, गौरव पहाडी, प्रदीप बास्तोला, रिस्ता बस्नेत, गम्भीर विष्ट, पुष्प आचार्य, किरण थापा, जीत राघव, दिनेश खड्का, दीपक अधिकारी, अर्जुन पोखरेल, सन्तोष लामा, साइव्रत आचार्य छन् । त्यसैगरी विशेष भूमिकामा नम्रता श्रेष्ठ र गजित विष्ट देखिनेछन् । फिल्ममा साप्ताहिकका सम्पादक सुवास ढकालको कथा र विजय अधिकारी, सुब्रत आचार्य र जया शर्माको संवाद रहेको छ ।