Thu. Apr 25th, 2024

काठमाडौं, ७ माघ । अहिले चलचित्रका हिरो÷हिरोइनसँगै केही रंग पत्रकार नृत्य सिकिरहेका छन् । जसलाई रिहर्सल भनिएको छ । रिहर्सलकै लागि केही दिनअघि मुम्बईबाट अभिनेत्री निरुता सिंह काठमाडौं आएकी छन् । यी कलाकार र पत्रकारलाई नृत्य निर्देशक गोविन्द राईले नचाइरहेका छन् ।
अभिनेत्री नन्दिता केसी, हर्षिका श्रेष्ठ, केकी अधिकारी, बेनिशा हमाल, निलिमा शर्मा, अभिनेता यसराज गराज, रंग पत्रकारद्वय सुमन गैरे र विजय आवाजलगायत अनामनगरस्थित सगरमाथा टेलिभिजन भवनको पाँचौ तलामा मंगलबार नृत्य रिहर्सल गरिरहेका थिए । उनीहरु भन्दै थिए, ‘अब पास भइयो ।’ ती कलाकार र पत्रकार कुनै निर्माणधिन चलचित्रका लागि नभई नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा ३१ जनवरी अर्थात १७ माघमा गर्न गइरहेको ‘नेफ्टा अवार्ड’ मा दम देखाउन नृत्य निखारिरहेका हुन् ।
रहर्सलकै क्रममा भेटिएका रंग पत्रकारद्वय सुमन र विजयले भने, ‘नेफ्टा अवार्डमा बेनिशा हमालसँग नाच्दैछौं ।’ बेनिशा, सुमन र विजयले कार्यक्रममा नेपाली चलचित्र ‘कसम’ को ‘वनमा फूल्यो फूल’ गीतमा नृत्य प्रस्तुत गर्ने भएका छन् । मंगलबार उनीहरु सो गीतमा रिहर्सल गर्दै थिए ।
त्यस्तै, अन्य हिरो÷हिरोइन पनि आफूले नृत्य गर्ने गीतमा रिहर्सल गर्दै थिए । नन्दिताले ‘नेफ्टा अवार्ड’ मा चलचित्र ‘प्रेम पिण्ड’ को ‘गैरी खेतको सिरै’ र ‘सुपर स्टार’ को गुराँसै फुल्यो’ बोलको गीतमा नृत्य गर्ने भएकी छन् । नन्दितालाई तिनै गीतमा राईले रिहर्सल गराइरहेका थिए ।
पाँचौं संस्करणसम्म सोल्टी होटलमा आयोजना हुँदै आएको ‘नेफ्टा अवार्ड’ को यस छैटौ संस्करण मलेसियाको सेटिएस सिटी सालममा हुँदैछ । पहिलोपटक अन्तर्राष्ट्रिय स्टेजमा हुन लागेकाले पनि आयोजक नेफ्टाले अवार्डलाई भव्य सफल पार्न लामो समयदेखि तयारी गर्दै आएको छ । ‘लगभ अवार्डको तयारी पूरा भएको छ’ नेफ्टाका उपाध्यक्ष पुष्कर लामाले भने, ‘रिहर्सल बिहीबार सकिँदैछ । त्यसपछि मलेसियाको कार्यक्रम तय हुनेछ ।’
आयोजक संस्था नेफ्टाका अनुसार मलेसियामा हुने अवार्डमा करिब एक सय जना कलाकार सहभागी हुने भएका छन् । अवार्ड नोमिनेशनमा परेका बाहेक कलाकारसमेत कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा निरुता सिंह, झरना थापा, रेखा थापा, करिश्मा मानन्धर, सौजन्य सुब्बा, नीता ढुंगाना, अभिनेता राजेश हमाल, गजिट विष्ट, यसराज गराजलगायतका कलाकार र प्राविधक गरी  एक सयजनाको टोली रहने नेफ्टाका अध्यक्ष मनोज केसीले बताए ।
कार्यक्रम तयारी गर्न अध्यक्ष केसीलगायत केही कलाकार अगाडि नै मलेसिया जाँदैछन् । अध्यक्ष केसी, बाबुराम दाहाल, प्रकाश महरा, झरना थापा, निरुता सिंह र रेखा थापा २७ जनवरीमै मलेसिया जाँदैछन् भने अन्य बाँकी कलाकार तथा प्राविधिक २९ तारिखमा जाँदैछन् । टोली २ फ्रेबुअरीमा नेपाल पर्कनेछन् ।

%d bloggers like this: