Thu. Mar 28th, 2024

काठमाडौं, २ माघ । चलचित्र पत्रकार डब्बु क्षत्री निर्देशित चलचित्र ‘राहदानी’ले केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सवै वर्गकाले हेर्न मिल्ने ‘युनिभर्सल (यु) सर्टिफिकेट’ अर्थात विश्वव्यापी प्रमाणपत्र पाएको छ । चलचित्रमा रहेको गालीगलौजको एउटा शब्द र जातीयताबारे चार वटा शब्दगरी जम्मा पाँच शब्दमा ‘पिप’को आवाज राखेपछि चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको हो ।
‘वैदेशिक रोजगारजस्तो अहिलेको समसामयिक  बिषयमाथि निर्माण गरिएको यस चलचित्रलाई अब जो कोहीले निर्धक्क हेर्न सक्नुहुनेछ’ निर्देशक क्षत्रीले भने । यो चलचित्र २८ चैतबाट देशव्यापी रिलिज गर्ने तयारी भइरहेको पनि उनले बताए ।
लक्ष्मीप्रसाद ढकालको प्रस्तुति रहेको ‘राहदानी’ नेपाल र मलेसियामा छायांकन गरिएको हो जसलाई रामशरण उप्रेतीले खिचेका हुन् । नेपालमा ७ फागुनबाट ‘च्यारिटी शो’ बिशेष प्रदर्शन हुने पनि उनले बताए । काठमाडौ, बुटबल र दोलखामा ७ वटा च्यारिटी शो निर्धारण भइसकेको क्षत्रीले बताए ।
‘राहदानी’ मा दयाहाङ राई, अशोक रिजाल, नवीन लम्साल, रुपा खनाल, विनिता घिमिरे, सृजना सुब्बा, दिनेश दुलाल, मोनिका दाहाल, अस्मिता बस्नेत, विधा कार्की, तेन्जिङ शेर्पा, विकाश जोसी, आयुस्मा श्रेष्ठ, शैलेन्द्र बस्नेतलगायतको अभिनय छ । चलचित्रमा रिमा विश्वकर्माको आइटम डान्स हेर्न सकिने छ । यस चलचित्रमा  रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, बनिश शाहको सम्पादन, राजु शाहको नृत्य निर्देशन, बसन्त सापकोटा÷ चेतन सापकोटा÷ गैरे सुरेश र जुगल डँगोलको संगीत छ ।

%d bloggers like this: