Fri. Mar 29th, 2024

काठमाडौं, २ माघ । चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियामा हुने सांगीतिक कार्यक्रमा नेपाली कलाकारले धुम मच्याउने भएका छन् । ३१ जनवरीदेखि फेब्रुअरी १ र २ मा लगातार तीनदिन मलेसियाको क्वालालम्पुर, जोहोरबारु र मुआरमा हुने ‘रिमिक्स धमाका–७’ मा नेपालका ख्यातीप्राप्त कलाकारले धुम मच्याउने भएका हुन् । बिहीबार राजधानीस्थित अनामनगरमा आयोजक जिरो माइल एसडीएन बीएचडीले पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
‘रिमिक्स धमाका–७’ बारे जानकारी गराउन मलेसियाबाट सुनिल चालिसे काठमाडौं आएका छन् । उनले कार्यक्रममा नेपाली कलाकारलाई मलेसियाको कार्यक्रममा सहभागी गराउन लागेको बताए । उनका अनुसार कार्यक्रमका लागि मलेसियाको मुख्य तीन शहरमा मार्केटिङ, पोष्टरिङलगायतको कार्य तिव्र भइरहेको छ । कार्यक्रमका संयोजकसमेत रहेका चालिसेले भने, ‘नेपाली कलाकारले सो क्षेत्रमा रहेका नेपालीलाई मनोरञ्जन प्रदान गर्न कार्यक्रम गर्न लागिएको हो ।’ उनले नियिमित सात वर्षयता कार्यक्रम गर्दै आएको र कार्यक्रमबाट आएको मुनाफाको १० प्रतिशत समाजसेवामा खर्च गर्दै आएको बताए । उनले भने, ‘हामीले काम गर्न मलेसिया पुगेर बेपत्ता तथा जेल परेकालाई उद्दार एवं खोजी गर्न सहयोग गर्दै आएका छौं ।’ चालिसेले ‘रिमिक्स धमाका’ कार्यक्रमले नेपाली कलाकार र विदेशमा रहेका नेपालीबीचको सम्बन्धलाई नजिक बनाएको दावी गरे ।
कार्यक्रममा मलेसिया जाने टोलीका कलाकारहरु अभिनेता शिव श्रेष्ठ, गायिका विष्णु चेमजोङ, लोकदोहोरी गायिका मन्जु महत, मिङ्मा शेर्पा, लोकदोहोरी गायक शिव हमाल उपस्थित भएका थिए । उनीहरुले आफू विदेशमा गएर नेपालीसँगको सम्बन्धलाई नजिक बनाउने बताउँदै सम्पूर्ण नेपालीलाई भरपुर मनोरञ्जन प्रदान गर्ने बताए ।
विदेशमा हुने कार्यक्रमको नेपालमा पत्रकार सम्मेलन किन ? भन्ने पत्रकारको जिज्ञासामा आयोजकतर्फबाट चालिसेले नेपालीकै कार्यक्रम, नेपाली कलाकारको उपस्थिति र नेपालीकै लागि गरिएको कार्यक्रम भएकाले पत्रकार सम्मेलन गरिएको बताएका थिए । कार्यक्रममा श्रेष्ठ, चेमजोङ, महत, शेर्पा र हमालका अलावा अभिनेत्री अनु शाह, कलाकार विष्णु सापकोटा (हर्के हल्दार) पनि मलेसिया जाने भएका छन् तर उनीहरु प्त्रकार सम्मेलनका सहभागी भएनन् ।

%d bloggers like this: