Sat. May 21st, 2022

काठमाडौं, २५ पुस । नेपालीमा एउटा चर्चित उखान छ– ‘भाइ फुटे, गँवार लुटे ।’  यही उक्ति नेपाली फिल्मको वर्तमान सन्दर्भमा सटिक भएको छ किनभने फिल्म ‘धुम’लाई तीन हप्ता एकलौटी छाडेर यो हप्ता भने चार वटा नेपाली फिल्म एकसाथ प्रदर्शन हुने भएका छन् । अर्थात् तीन हप्ता ‘धुम’ले नेपाली दर्शक लुटेपछि यो हप्ता नेपाली निर्माता फुटेका छन् । यो हप्ता नेपाली दर्शकले चार फिल्मको भिडन्तमात्रै होइन, हिन्दी हिट फिल्मको सिक्वेल र स्टारको फिल्मका लागि मैदान खाली गर्न सक्ने नेपाली फिल्मका निर्माताले आपसी समझदारी कायम गर्न नसक्नुको परिणाम पनि देख्नेछन् ।
यो हप्ता भिडन्तमा ओर्लिएका फिल्म हुन्, ‘६ एकान ६’, ‘पराई’, ‘बितेका पल’ र ‘योद्धा’ । तीमध्ये तीन फिल्मको भालेभिडन्त रिलिजअघि नै रोचक भइसकेको छ । हास्यव्यंग्य कार्यक्रमले टेलिभिजनमा कब्जा जमाएकाहरूको एकता रहेको ‘६ एकान ६’, ‘बाटोमुनिको फूल’ जस्तो हिट फिल्मको निर्माण गरिसकेका निर्माता राजेश घतानी र यति बेला उत्कृष्ट निर्देशकको अवार्ड थापिरहेका निर्देशक सुरज सुब्बा नाल्बोको सहकार्य रहेको ‘बितेका पल’ र ‘कहाँ छौ कहाँ’ जस्तो हिट फिल्मका निर्माता तथा अभिनेताले निर्माण गरेको र भर्खरै दिवंगत शिव रेग्मीले निर्देशन गरेको फिल्म ‘पराई’बीच तीव्र प्रतिस्पर्धा देखिएको छ । तीनै फिल्मले आक्रामक प्रचारमात्रै थालेका छैनन्, हल हत्याउन पनि उस्तै ताकत लगाइरहेका छन् ।

chha-ekan-chha
दर्शकले आफूलाई मन पर्ने फिल्म छान्नुअघि वितरकले आफू नजिकको हलमा त्यो फिल्म लगाउन ल्याकत राख्छन् कि राख्दैनन् भन्ने कुरालाई मध्यनजर गर्नुपर्ने समय पनि पहिलो पल्ट आएको हो । दिनेश डिसीले निर्देशन गरेको ‘६ एकान ६’ कमेडी फिल्म हो । यो फिल्ममा नीता ढुंगाना, दीपकराज गिरी, सीताराम कट्टेल, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, सन्दीप क्षेत्री, राजबल्लभ कोइराला र दीपाश्री निरौला मुख्य भूमिकामा छन् । रोमान्टिक फिल्म ‘बितेका पल’मा केकी अधिकारी, बाबु बोगटी, अविनाश गुरुङ र आकाश खवास मुख्य भूमिकामा छन् । मसलेदार फिल्म भनिएको ‘पराई’मा गोविन्द शाही, गरिमा पन्त, निरज बराल, नन्दिता केसी, राजबल्लभ कोइरालाको अभिनय रहेको छ ।
parai-poster