Thu. Mar 28th, 2024

लखनउ, २५ पुस (एजेन्सी) । उत्तर प्रदेश ‘युपी’ मा फिल्म सुटिङ गर्दा सरकारले एक करोड रुपैयाँ अनुदान दिने भएको छ । तर, त्यसका लागि ७५ प्रतिशत सुटिङ उत्तर प्रदेशमै हुनुपर्छ । निर्मातालाई प्रोत्साहन गर्न उत्तर प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । यसैक्रममा पहिलोपटक दुई बलिउड फिल्मलाई एक–एक करोड अनुदान पाएका छन् । सैफ अली खान अभिनीत फिल्म ‘बुलेट राजा’ र माधुरी दीक्षितको ‘डेढ इश्किया’ एक–एक करोड अनुदान पाएका हुन् ।
यी दुवै फिल्मलाई उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले एक–एक करोड रुपैयाँ दिने बताएका छन् । शासकीय इकाई ‘फिल्म बन्धु’ को बैठकमा सहभागी अखिलेशले उक्त घोषणा गरेका हुन् । माधुरी र नरसिद्दिन शाहको मुख्य अभिनय रहेको फिल्म ‘डेढ इश्किया’ शुक्रबारबाटै प्रदर्शन हुँदैछ ।
फिल्म बन्धुका एक अधिकारीका अनुसार जुन फिल्मको ७५ प्रतिशत सुटिङ उत्तर प्रदेशमा हुन्छ, त्यस फिल्मले आफ्नो लागतको २५ प्रतिशत अथवा एक करोड रुपैयाँ पाउने छ । राज्य सरकारले फिल्म  क्षेत्रलाई प्रोत्साहन गर्न यस्तो नीति अपनाइएको बताइएको छ । फिल्म ‘बुलेट राजा’ र ‘डेढ इश्किया’ को अधिकांश सुटिङ उत्तर प्रदेशमा भएकाले सो सहायता दिइएको जनाइएको छ । फिल्म ‘डेढ इश्किया’ सुटिङ उत्तर प्रदेशको सीतापुर, महमूदपुर गरिएकोहो भने ‘बुलेट राजा’ लखनऊ र बाराबन्कीमा गरिएको थियो ।

%d bloggers like this: