Fri. Mar 29th, 2024

काठमाडौं, २४ पुस । ‘पराई’ हेरेपछि दर्शक आफन्त हुने चलचित्रकी नायिका गरिमा पन्तले बताएकी छन् । ‘चलचित्र नहेरेसम्म मात्र पराई हो हेरेपछि सबै आफन्त हुन्छन्’ ‘पराई’बारे जानकारी गराउन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गरिमाले भनिन्, ‘सिनेमा हल जाँदा बाटामा मात्र दर्शक पराई हुन्, सिनेमा हेरिसर्केपछि सबै दर्शक आफन्त हुनेछन् ।’ अभिनेता तथा वितरक गोविन्द शाही निर्मित ‘पराई’ २६ पुसदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।
‘पराई’बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बढी समय स्वर्गीय निर्देशक शिव रेग्मीकै चर्चामा खर्चिएको थियो । ‘पराई’ निर्देशक रेग्मीको दोस्रो अन्तिम चलचित्र हो । त्यसैले स्वर्गीय रेग्मीको प्रशंग र चर्चामै कार्यक्रम केन्द्रित भएको थियो । ‘आज हाम्रो टिम क्याप्टेन हामीसामु हुनुहुन्न’ चलचित्रका निर्माता तथा अभिनेता गोविन्द शाहीले भने, ‘यदि उहाँ हुनुभएको भए सायद पराईबारे हामीभन्दा धेरै कुरा बताइदिनुहुन्थ्यो होला तर उहाँ नभए पनि आफ्नो सिर्जना छाडेर जानुभएको छ ।’ अभिनोता शाहीले ‘पराई’ एकपटक हेरेर स्वर्गीय निर्देशक रेग्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्न दर्शकलाई आग्रहसमेत गरे ।
त्यस्तै, अर्का नायक निरज बरालले ‘पराई’ उत्कृष्ट चलचित्र बनेको बताए । उनले भने, ‘निर्देशक शिव रेग्मी हामीमाझ हुनुहुन्न तर उहाँले अन्तिम अवस्थामा पनि पराईजस्तो राम्रो सिर्जना छाडेर जानुभयो । हामीले पनि राम्रै काम गरेका छौं ।’ त्यसो त शिव रेग्मीले पनि आफ्नो उत्कृष्ट सिर्जनामध्ये ‘पराई’ एक भएको बताएका थिए । स्वर्गीय निर्देशक रेग्मीको भनाइ स्मरण गर्दै अभिनेता शाहीले भने, ‘शिव रेग्मीले नै राम्रो ठानेको पराई दर्शकले पनि मनपराउँने छन् भन्नेमा विश्वस्त छु ।’
दीपक कुमार शाही, कुन्ती शाही, गोविन्द शाही र कमल खड्काको संयुक्त निमाण रहेको ‘पराई’ मा बसन्त सापकोटाको संगीत र शम्भु सापकोटाको छायांकन छ । चलचित्रमा विपिन मल्लको सम्पादन र हिमाल केसीको द्वन्द्व हेर्न पाइने छ । पूर्ण पारिवारिक ड्रामा लभस्टोरी चलचित्र ‘पराई’ मा गोविन्द शाही, निरज बराल, गरिमा पन्त र नन्दिता केसीको मुख्य अभिनय छ । साथै चलचित्रमा राजबल्लभ कोइराला र रेजिना उप्रेतीले अतिथि भूमिकामा छन् । क्रियटिभ फिल्म क्रियशनको ब्यानरमा निर्मित ‘पराई’ राजधानीलगायत देशका करिब चालिस सिनेमा हलमा एकैसाथ प्रदर्शन हुँदैछ ।

%d bloggers like this: