Thu. Apr 18th, 2024

२०५५ सालमा पहिलोपटक नाटक गर्दा जुँगाको रेखीमात्र बसेको थियो। हामीले गरेको नाटक त्यत्ति रुचाइएन। त्यो असफलताले केही साथीहरु बिरक्तिएर बियर पिउन थाले। मलाई त स्टेजको पहिलो अनुभवको नसाले तताइसकेको थियो, मैले पिइन। अहिले फर्केर हेर्दा त्यस्तो लाग्छ, तर त्यतिखेर चाहिँ बुवाको डरले पिएको थिइन। भर्खर एसएलसी पास भएको छोरोले रक्सी पिउनु बिग्रनु मानिन्थ्यो। आजभोलि समय निकै बदलिसकेछ, बावुछोरा सँगै बसेर पिउँदा रहेछन्।

समाज रुपान्तरणको यो उदाहरणलाई थाती राखेर आफ्नो नाट्ययात्रामा फर्कन्छु। अहिले समय, अनुभव र अनुभूतिले जुँगा पनि बाक्लै भएछ। ‘कोर्ट मार्सल’मा मैले खेलेको पात्र विकास पोखरेलको जुँगा र मुस्कानको तारिफ सुन्दा ईर्ष्या लाग्छ। सम्झन्छु, नाटक सुरु गर्दाताका मेरो जुँगाको रेखीमा त्याति दम रहेनछ।
एउटा किताबमा पढेको थिएँ, परिपक्व कलाकार हुन कम्तीमा दश वर्ष लाग्छ रे, तर मलाई एउटा परिपक्व अभिनेता हुन या भनौँ, अरुले अभिनेताको रुपमा स्वीकार गर्न १५ वर्ष लागेछ। मैले नाट्ययात्रा नाचघरको ६ महिने अभिनय प्रशिक्षणबाट सुरु गरेँ तर म नाटकमै होमिएको गुरुकुलको स्थापनासँगै हो। एउटा कलाकार इमान्दार हुनुपर्छ, कम्तीमा आफैँसँग भनेर मेरा गुरुले भन्नुभएको थियो, म त्यही विश्वासले कलायात्रामा समर्पित छु।
‘अग्निको कथा’मा भिक्षु ज्ञानको भूमिका पाएको थिएँ जो ज्ञानको खोजीमा हिँड्छ। अहिले त्यो यात्रा मेरो यात्रा भएको छ। मैले जीवन भोग्दै जाँदा त्यतिखेर नबुझेका कुरा स्पष्ट हुँदै आएका छन्। नाटक ‘अको कथा’मा गुम्बामा आगो लाग्छ र पुस्तकालय जल्छ। ज्ञान पाउँछु भनेर बसेको भिक्षु ज्ञानलाई पीडा हुन्छ र ऊ ज्ञानको खोजीमा निस्कन्छ। त्यसरी नै म गुरुकुलबाट आफूलाई फैलाउन निस्केँ।
भिक्षु ज्ञान भन्छ, ‘यो यात्रामा म कतै गएर ध्यानमा बस्न सक्छु ,कैलाश मानसरोवर जान सक्छु या गाउँमा बिहे गरेर बस्न पनि सक्छु।’ उसले यात्रा गर्छ। जीवन र जगत बुझ्ने कोशिश गर्छ। बुझेँझैँ अनुभव गर्छ तर के बुझेँ भनेर अभिव्यक्त गर्न सक्दैन र ऊ शब्दको खोजीमा फेरि गुम्बा नै फर्कन्छ। म पनि त्यसरी नै फर्किएँ ‘कोर्ट मार्सल’मार्फत नाटकमा।
‘अग्निको कथा’को ज्ञान म हो कि म भिक्षु ज्ञान भएँ, त्यो मैले मैले बुझ्न सकेको छैन तर त्यो यात्रा मेरो यात्रा भएको छ र ज्ञानले भनेझैँ म मेरो कुरा गर्न सक्छु। अरुको सक्दिन।
मैले गुरुकुल छोडेपछि आफ्नै सानो इन्टिमेट थिएटर खोल्न खोजेँ भक्तपुर मेरै गृहजिल्लामा तर सफल भएन। कलेज र स्कुलहरुमा आफूले सिकेको ज्ञान बाँडे। एनजिओका विकासे नाटकहरु गरेँ, नागा थिएटरहरुमा अंग्रेजी नाटकहरु गरेँ, एकल नाटकहरु लिएर अस्ट्रेलिया, युरोपका देशहरु घुमे र चलचित्रहरु गरेँ। ५ वटाजति प्रदर्शन नै भइसके र ६/७ वटा प्रदर्शन तयारीमा छन्। तर, अभिनेताका रुपमा हेरिएकै रहेनछु म। त्यो ठीक पनि हो। जसरी मदारीले बाँदर नचाउँछ, कला सम्झेर नभई बाँच्नका लागि, एक हिसाबले म पनि त्यही गरिरहेको थिएँ। तर, ‘कोर्ट मार्सल’ मैले कलाको प्यासले स्वीकार गरेको हुँ। त्यो प्यास एक हदसम्म ‘कोर्ट मार्सल’ ले पूरा गरेको छ।
१५ वर्षपछि बल्ल आएर मलाई एउटा कलाकारको रुपमा स्विकारिएको छ। चुनौती पनि थपिएको छ। अब अरुको लागि बाँच्नुपर्ने र उनीहरुको आशामा खरो उत्रनुपर्ने छ। मलाई स्वीकार छ, यो मेरो बाध्यता होइन, स्वनिर्णय हो।
मैले आजसम्म सबै मेरो करियर, मेरो काम भन्दै आफ्नै लागि मात्र गरेँ, तर अब समाजका लागि गर्छु। मलाई लाग्छ, हामी सबै आफ्नै लागि सोचिरहेका छौँ। जुन दिन सबले समाजका लागि, मानव जातिका लागि सोच्छौँ, त्यो दिन संसार अर्कै हुनेछ। प्रत्येक धर्मले भन्ने दया र प्रेम त्यही होला सायद।
निर्देशक अनुप बराज दाजुले दिएको निर्देशनलाई ध्यानमा राख्दै क्यापटेन विकास पोखरेललाई जिवन्त बनाउन मैले सक्दो कोशिश गरेँ। विकास पोखरेल भन्छ, ‘म आत्माको अनुसन्धाता हुँ, हन्टर अफ दि सोल।’
ऊ तर्क गर्छ, बहस गर्छ आफूलाई एकदम सन्तुलित राख्छ। शान्त देखिन्छ ऊ। भाषा हतियारको रुपमा प्रयोग गर्छ। लाग्छ, ऊ हिरो हो, तर क्याप्टेन राणा रिसाएर अगाडि बढ्दा ऊ डराउँछ र भाग्छ किनभने ऊ मान्छे हो। मान्छेको स्वभाविक प्रतिक्रिया तर पनि ऊ सत्यलाई उजागर गर्न लागिपर्छ।
विकास पोखरेल हाम्रै समयको मानिस हो।
हामीले छापामा पढेका पनि छौँ र छरछिमेकमा देखेका पनि छौँ, एउटै परिवारका सदस्यहरु विद्रोही र राज्य पक्षमा भएर यातना भोगेको र मर्माहित भएको। त्यसैले विकास पोखरेलले मञ्चमा अभिनय गर्दा दर्शकदिर्घामा अरु कोही आन्दोलित भइरहेका हुन्थे।
एउटा प्रदर्शनमा सैनिक विभागका वकिल उपस्थित हुनुहुन्थ्यो। नाटकपछि उहाँले आफ्नो अनुभव सुनाउँदा म दंगै परेँ।
यो लामो प्रदर्शनबीचमा थुप्रै दर्शकका तितामिठा अनुभव र नाटकले उठाएको समाजको विकृति, विसंगति र अस्तव्यस्तताले पीडा पनि दिन्थ्यो। सँगै यस्तो पे्ररणा पनि, अब साँच्चै हामीले समाज रुपान्तरणको लागि अरुको भर नपरी आफैँ हातेमालो गरी अगाडि बढ्नुपर्छ।
एउटा प्रदर्शनपछि सरोज खनाल दाजुले नेपथ्यमा आएर मलाई बधाई दिँदै भन्नुभयो, ‘उहाँलाई विकास पोखरेल आफैँ भएझैँ महसुस भयो रे। साह्रै खुसी लाग्यो किनभने हामी उहाँकै रंगमञ्चको अभिनयका कुरा सुन्दै हुर्केका पिँढी हौँ।
डिसेम्बर २८ को अन्तिम प्रदर्शनमा विकास पोखरेल भन्दै थिए, ‘शक्तिशाली मानिसहरुको विरोधलाई राजनीतिक विरोध भनिन्छ जसले उनीहरुलाई एक उफ्राइमा पुर्याइदिन्छ सत्ताको नजिक।’
त्यतिखेर मेरा आँखा दर्शकदिर्घामा बसेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग जुध्न पुगे। मेरा आँखा त्यही एकछिन अडिए।
त्यो अरु प्रदर्शनमा भन्दा लामो मौनता थियो र मलाई त्यो मौनता संगीतझैँ लाग्यो र त्यसले एक किसिमको ऊर्जा दियो। अनि मैले अर्को संवाद उठाएँ, ‘कमजोर मानिसहरुको विरोधलाई विरोध होइन, विद्रोह भनिन्छ जसले उनीहरुलाई एक उफ्राइमा पुर्याइदिन्छ, फासीको तख्तामा। अगाडि सुरक्षाकर्मी साथीहरु पँलेटी कसेर बसिरहेका थिए। एकजनासँग मेरो आँखा जुध्यो, उनको आँखामा टलपल टलपल आँसु थियो। उनी त्यो आँसु लुकाएर यसरी मुस्काए, त्यो म जिन्दगीभरि बिर्सन सक्तिन।
त्यस्तै फेसबुक र ट्विटरमा सम्वादहरु देख्दा र प्रशंसाका शब्दहरु हेर्दा १५ वर्षका चिठीहरु एकैसाथ राखेर पढेझैँ अनुभव भइरहेको छ।
सेतोपाटी डटकमबाट साभार
%d bloggers like this: