Fri. Apr 26th, 2024

सुदूरपश्चिम तथा कर्णाली अञ्चलका एफएमहरूमा तिहारताका खुब  घन्किन्छ, देउडा भाका ‘करनाली पुल’ । तिहारमा दाजुबहिनीको भेट हुन नसकेको प्रसंगलाई देउडा भाकामार्फत पस्किएको गीत देउडाप्रेमी धेरै स्रोताले मन पराएका कारण एफएमहरूले दिनमै सातआठ चोटि बजाइरहेका हुन्छन् ।

विष्णु माझी र विनोद बाजुरालीको स्वरमा रहेको गीतमा मुम्बईमा रहेका  दाजु र गाउँघरमै रहेकी बहिनीको वेदना समेटिएको छ । वैदेशिक रोजगारीका लागि भारतका विभिन्न स्थानमा पुग्ने यहाँका धेरैको साझा पीडा यो गीतले समेटेको छ । मुम्बईमा पुगेर चौकीदारी, दरबान तथा अन्य घरेलु काम गर्नेले तिहारमा छुट्टी पाउन कठिन हुन्छ । भारतमा दीपावलीलाई निकै तामझामका साथ मनाइने भएकाले उनीहरूका मालिकको घरमा यही समयमा बढी काम हुन्छ ।

यसरी काम गर्नेका दाजुबहिनीको तिहारमा भेट नभएको निकै वर्ष भइसकेको कुरा गीतमा उल्लेख छ । धेरै वर्ष भाइटीका लगाउन नपाए पनि तिहारकै अवसरमा फुल्ने हजारी फूल (सयपत्रीजस्तै एकाप्रकारको फूल)ले दाजुको याद दिलाएको र माइतीघरतिर मन डुलेको कुराबाट गीत सुरु भएको छ । आफूलाई यस पटक पनि साहूले बिदा नदिएका कारण फोटोमै भाइटीका लगाऊ भन्ने दाजुको जवाफले बहिनी मर्माहत भएको गीतमा उल्लेख छ ।

सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्लाका धेरै दाजुबहिनीको यस्तो अवस्थालाई नजिकबाट नियालेका प्रभात कुभीले यो गीत लेखेका हुन् । गायक विनोद बाजुराली र गायिका विष्णु माझीले स्वर भरेका हुन् । लोकदोहोरी गीतको एरेन्जरका रूपमा चर्चित विनोदले गीतमा गहिरो मर्म भेटेपछि त्यस्तै दर्शाउने संगीत संयोजन गरेको बताए । उनले भने, ‘धेरैको साझा दुःख समेटिएकाले गीत लोकप्रिय हुने कुरा त्यतिबेलै चाल पाइसकेको थिएँ  ।’

देउडा गायनबाटै गीतसंगीततिरको करिअर थालेका विनोदले केही समयदेखि देउडा गीत गाएका थिएनन् । यही गीतबाट देउडा गायनमा फर्किएका उनलाई यस गीतले पहिलेको भन्दा बढी चर्चा दिलायो । देउडाप्रेमीहरू रहेका मुम्बईमा प्रत्येक तिहारमा आयोजना हुने कार्यक्रममा बोलाइने कलाकारमा उनी अनिवार्य हुन्छन् । भन्छन्, ‘सधैँ जान पाइदैन, यस पटक फेरि जाने योजना छ ।’

bishnu

%d bloggers like this: