Tue. Apr 23rd, 2024

धनबहादुर खड्का
‘पृथ्वी गोलो छ, जहाँ पुगेपनि बाँचिएछ भने भेट हुन्छ,’ नौ वर्षअघि उनले यस्तै भनेकी थिइन् । आज पनि याद छ, फिल्म कलाकारको पिकनिकमा उनकै उमेरकी दौतरीसँग आएकी थिइन् उनी । म पत्रकारिताका बाह्रखरी सिक्दै थिएँ त्यतिबेला । अफिसले रमाइलो पनि गर्छ, कलाकारलाई पनि चिन्छ भनेर मलाई त्यो पिकनिकमा पठाएको थियो । भर्खरै काठमाडौं झरेको म टीभि र फिल्ममा मात्रै देखेका कलाकार अगाडि हावाकावा भएको थिएँ । त्यो भीडमा एक्लो भइरहेको मलाई मेरै उमेरकी उनले साथ दिइन् । उनी पनि कम्ति राम्री थिइनन्, त्यतिबेला । सत्र वर्षे जोवनको लालिमाले धपक्कै बलेकी थिइन् । चर्चित कलाकार पनि उनीसँग बोल्न मरिहत्ते गरेको देखेको हुँ । बुढाहरुले ¥याक गरेपछि मकहाँ आएकी थिइन् उनी । उनलाई हिरोइन हुने चाहानाले गाँजेरै त्यहाँ पु¥याएको थियो ! मैले फोन नम्बर माग्दा त्यो वाक्य बोलेकी थिइन्, ‘पृथ्वी गोलो… ।
साँच्चै गोलो रहेछ पृथ्वी ! नौ वर्षपछि अस्ति शनिवार भेट भयो । उदाउँदै गरेकी एकजना हिरोइनसँग अन्तवार्ताका लागि भेट्दा सँगै आएकी थिइन् उनी । सुरुमा मैले चिन्दै चिनिनँ, उसको नाम पनि बिर्सिसकेको रहेछु । ‘पृथ्वीले हामीलाई एकै ठाउँमा पु¥याउन नौ वर्ष लगायो है,’ मेरो उत्तर सुनेर उनी मुस्कुराइन् । ‘साँच्ची, त्यो दिन पछि भेटै भएन के गर्दैछ्यौ अचेल,’ मैले उनका वारे बुझ्न चाहें ।
उनी नौ वर्ष अघि फर्किइन् । त्यो पिकनिकमा उनले एकजना अर्काे मान्छेलाई पनि भेटेकी थिइन् । उनी फिल्म र भिडियोमा चर्चित क्यामेराम्यान थिए (अहिले फिल्म निर्माता र भिडयो निर्देशक पनि हुन्) । क्यामेराम्यान भएपनि सत्ताइस वर्षे ठिटो, हेर्दा कुनै फिल्मको हिरो भन्दा कम थिएनन् । उनकै बहिनीमार्फत् भेटिएका उनीसँगको चिनजानले राम्रो साथीको रुप लिन समय लागेन । सानै कुरामा एक्साइटेड हुने ‘नानु’लाई यी ‘राजा’को केयरिङले आत्मीयता अनुभूत हुन थाल्यो । भर्खरै किशोरावस्था पार गरेकी उनी ह्यान्डसम र केयरिङ भएको विपरित लिंगीप्रति आकर्षित हुनु अस्वभाविक थिएन । त्यसैमाथि मनको एउटा कुनामा मोडल÷हिरोइन हुने सपनालाई त्यही क्षेत्रमा लागेको मान्छेले पूरा गरिदिन्छ भन्ने लालसा पनि थियो ।
‘तिमी मलाई कति माया गर्छाै,’ १७ वर्षे किशोरीलाई आफ्नो मोह जालमा पारिसकेपछि राजाले सोधे । उनले जति राजालाई माया गर्थिन् त्यति दर्शाउने शब्दै भेटिनन् । त्यसैले भनिदिइन्, ‘आफूलाई भन्दा धेरै ।’ राजाले भने, ‘त्यसो भए एउटा बाचा गर्नुपर्छ आज ।’ एउटा होइन हजार बाचाबन्धनमा बाँधिन तयार थिइन् उनी । त्यसैले सहजै स्विकार गरिन् । उनले भने, ‘तिमी क्यामेराअघि कहिल्यै देखिने छैनौ । किनभने क्यामेराले खिचेपछि टिभी र पर्दामा देखिन्छ्यौ । पर्दामा देखिएपछि अरुले आँखा लगाउँछन् । तिमीलाई अरुले आँखा लगाएको म हेर्नै सक्दिनँ ।’ वाह कति धेरै माया गर्ने मान्छे भेटिछु मैले भन्दै ‘हुन्छ’ भन्ने वाचाको साथ उनको कुममा टाउको राखिन् ।
फिल्म क्षेत्रमा करिअर चम्काउने सपना मायाको आगोले डढाएपछि उनले बिदेश जाने कुरा गरिन्् । राम्रो कमाइ हुने ठाउँ इजरायल छानिन् । भविष्यमा आफ्नै कमाइले केही गर्नुपर्छ भन्ने सोच बनाएर बिदेश जाने भएपछि राजाले मन अमिलो पारे । तरपनि जाने स्वीकृति दिए । विदेश उड्ने दिन एअरपोर्टमैं पुगेका थिए उनी । प्रेम कति शक्तिशाली हुन्छ भन्ने त्यही दिन महशुस भएको हो नानुलाई । किनभने घरपरिवारकै अगाडि डरधक नमानी अंगालो मारेर चुमिदिइन् राजालाई । राजाले पनि साथ दिए । घरपरिवारलाई पनि लाग्यो, ‘केटो माया गर्ने नै भेटिछे छोरीले ।’
विदेश पुगेपछि सम्पर्क गरिरहिन् । उनले पनि फोन गरिरहे । एक दिन भने, ‘नानु, म तिमीविना यहाँ बाँच्नै सकिनँ, त्यतै आउने बन्दोबस्त मिलाऊ ।’ उनी दंग भइन्, ‘फिल्ममा क्यामरा चलाउने यस्तो ह्यान्डसम मान्छेले केटी नभेट्ने कुरो हुन्थ्यो र ! मेरै मायाले फत्रक्कै पारेछ विचरालाई’ भन्ने लाग्यो उनलाई । त्यसपछि इजरायल नै जाने बन्दोबस्त मिलाइन् । आफैले अपार्टमेन्ट खोजिन् । दुई वर्ष सँगै एउटै अर्पाटमेन्टमा बसे । एकै ठाउँमा बसेपछि मन मात्रै नजिक रहने कुरा भएन । त्यहाँ रहुन्जेल विवाहितकै रुपमा रहे । पैसा पनि जो सँग राखेपनि भो भन्ने तरिकाले मतलबै गरिनन् । जब नेपाल फर्किने बेला भयो । त्यसपछि उनले भने, ‘हामी इज्जत भएका मान्छे हौं, त्यसैले तिमी माइतीमै फर्क म घरमै । झ्याइँ–झ्याइँ बाजा बजाएर बिहे गर्नुपर्छ ।’ उनलाई ठिकै हो जस्तो लाग्यो । त्यसैले राजा नेपाल फर्किए पनि उनी तत्काल फर्किनन् । एअरपोर्ट छोड्न आइन्, फेरि एकचोटी विछोडका आँशु झरे उनका आँखाबाट । तर, राजाले आफू दुःखी भएको हेर्ने अवसरै नदिई हात हल्लाए ।
उनी नेपाल फर्केको केही दिनपछि फोन आयो । उताबाट बोल्ने राजा थिएनन् । बरु ‘युवराज्ञी’ थिइन् ! भन्दै थिइन्, ‘अन्टी मेरो बाबालाई केही पनि नगर्नाेनस् छोडिदिनस् है ।’ उनी बसेको कोठा फनफनी घुम्यो । त्यसपछि राजालाई फोन गरिन् । उनले त्यस्तो होइन, एउटा केटीले दुःख दिइरहेको कुरा बताए । पछि थाहा पाइन्, इजरायल हुँदा पनि महिनाको दश हजार पठाउने गर्दा रहेछन् उनी ती नानी र नानीकी आमालाई । लगत्तै नेपाल फर्किइन्, घरमा तीन दिन पछि आउँदैछु भन्ने खवर गरेर तीन दिनअघि नै नेपाली उत्रिएकी थिइन् उनी । उनी नेपाल पुग्ने दिन काठमाडौं भ्यालेन्टाइन्स डेले रंगिएको थियो । त्यसैले उनले पनि सिधै आफ्नो भ्यालेन्टाइन खोजिन् । अफिसमै थिए उनी । त्यसैले उनले आफूले धोका नदिएको अर्कैले फसाउन खोजेको बताए । भ्यालेन्टाइन्सलाई रंगीन बनाउन तयार रहेको बताए । उनीहरुले ठमेलमा भ्यालेन्टाइन्स डे मनाए भने भोलिपल्ट दोलालघाट घुमे ।
राजा केही दिनपछि गायव भए । एक दिन पशुपतिमा भेट्न बोलाए । राजाले भने, ‘सरी नानु मैले अर्कैसँग बिहे गरें ।’ उनले भनिन् ‘त्यो दिन आफ्नै प्रेमको मलामि बन्न पशुपति पुगेजस्तो लाग्यो मलाई ।’
केही समय बोल्नै सकिनन् । उँधोमुन्टो लगाएर भनिन्, ‘बागमतिमा बगिरहेको पानी र भन्ने गरिएको स्वच्छ प्रेम उस्तै लाग्छ मलाई । नास्तिक फोहोर खोलो देख्छ, आस्तिकले जल ठान्छ ।’
यति समय दुई कप कफी खायौं । झरी पनि अलिक थामियो । अन्त्यमा छुट्टिने बेला उनले मेरो नम्बर माग्दै भनिन्, ‘पृथ्वी गोलो नभएको भए राम्रो हुन्थ्यो । कम से कम त्यो मान्छेसँग त भेट हुँदैन्थ्यो ।’

%d bloggers like this: