Fri. Apr 19th, 2024

अहिलेका व्यस्त कलाकार विल्सनविक्रम राई (तक्मे बुढा) चार वर्षअघि गाडी भाडाको अभावमा आफ्नो जन्मथलो झापा जान पाएनन् । चाडबाडमा मामाघर पुग्ने उनले त्यतिबेला बाचा गरेका थिए, ‘पैसा कमाएपछि दसैँमा गाउँ जान्छु र भव्य रमाइलो गर्छु ।’ त्यतिबेला काम थिएन, दाम पनि थिएन । त्यसैले दसैँमा गाउँ फर्किन पाएनन् । तर, दुई वर्षदेखि उनी यति व्यस्त छन् कि गाउँ जाने फुर्सद निकाल्नै सकेका छैनन् । अघिल्लो वर्ष पनि विदेशमा रहेका नेपालीसँग दसैँ मनाएका उनले यसपालिको दसैँमा १५ वटा देशमा कार्यक्रम गर्नेछन् । उनी भन्छन्, ‘पैसा कमाउन थालेपछि दसैँमा झन् गाउँ जान पाइने रहेनछ ।’
विदेशिएका पनि दसैँतिहारमा जन्मभूमि फर्किने प्रयास गर्छन् । तर, राजेश हमाललाई चाहिँ यो पर्वमा  विदेशमा हुन पाए भन्ने लाग्छ । किनभने, दसैँको टीकाकै दिन बिरामी परेर हस्पिटल पु¥याइएकी उनकी आमा फर्केर घर आइनन् । त्यसैले उनका लागि दसैँ उत्साह होइन, मातृवियोगको पीडा लिएर आउँछ । यसपटक उनी दसैँमा दोहा, कतारमा हुनेछन् ।
दसैँमा जसरी भए पनि विराटनगरका साथीभाइसँग रमाउन चाहने जीवन लुइँटेललाई यो वर्ष बाध्यताले परदेशी हुनु परेको छ । फिल्म ‘स्टुपिड मन’को सुटिङका लागि दसैँअघि नै थाइल्यान्डमा पुगेका उनी फर्किन पाउनेछैनन् । अर्का अभिनेता निरज बरालको पनि जीवनको जस्तै बाध्यता छ । अभिनेत्री प्रियंका कार्कीको दसैँ पनि विदेशमै बित्नेछ । दसैँकै छेकोमा दोहामा आयोजना हुने कार्यक्रमका लागि उनी त्यता जाँदै छिन् । उनीसँगै सुमिना घिमिरे पनि सोही कार्यक्रमका लागि विदेशिने भएकी छिन् ।
पूर्व मिस नेपाल माल्भिका सुब्बा र हास्यकलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरे भने सिंगापुरमा दसैँ मनाउने योजनामा छन् । अभिनेत्री झरना थापा पनि सांस्कृतिक र्काक्रमका लागी फूलपातीको दिन युरोप टुरमा निस्कने भएकी छिन् । दसैँ आउनुभन्दा अघि नै क्यानडा पुगेकी गायिका सुनीता दुलाल दसैँमा उतै हुनेछिन् ।Rajesh_Hamal

%d bloggers like this: