Sun. Jun 26th, 2022

विनोदविक्रम केसी

बाउको एकबुँदे रटान थियो– तँ सेकेन लप्टन हुनुपर्छ ।
मेरो एकबुँदे रटान थियो– म मरिगए सिपाही हुन्नँ ।
भात खाँदाखाँदै म बीचमै उठिदिन्थेँ । रछ्यानमा हात चुठिरहँदा म सुन्थेँ, बाउ आमालाई भनिरहेका हुन्थे– ‘तेरो छोरोजस्तो घमन्डी मान्छे संसाराँ कोई छैन । कत्रो दुःख गरेर कुरा मिलाउँदै छु । यसको चाहिँ पारै के हो, के हो । बुठ ला’र गाउँलेका अगाडि छोरो ग्य्राप ग्य्राप हिँड्ला भन्या त…।’
मैले आइए पास गरेपछि बाउको जुनिभरिको सपना जुर्मुराइरहको थियो । विष्फोट हुन खोजिरहेको थियो । तर, म थिएँ त्यस विष्फोटको भाँजो । म पूर्णतः ओसिइदिएको थिएँ ।
त्रिपन्न÷चौवन्न सालतिर सेकेन्ड लेफ्टिनेन्टको ‘भाउ’ एकदेखि डेढ लाख रुपैयाँ थियो । अर्थात्, यति रकम तिरेपछि नाम निक्लिन्थ्यो । अहिले यो विकृति छैन क्यारे । दुईतीन वर्ष अघिसम्म सेकेन्ड लेफ्टिनेन्टमा नाम निकाल्न १५ लाख रुपैयाँसम्म खर्चिने वा तीनचार आना जग्गासम्म ‘कुरा मिलाउनेका’ नाममा पास गरिदिने परम्परा बसिसकेको थियो । सेनाभित्रको विराट भ्रष्टाचारका सूचना, खबर, जानकारी, सत्य आदि अपारदर्शिताको काँडेतार नाघेर कहिलेकाहीँ जनताछेउ आइपुग्छन् । तर, आजसम्म कुनै जर्नेललाई अख्तियारले पत्र काटेको खबर सुन्न पाइएको छैन । अरू त अरू, मिडिया पनि ‘सेनालाई चलाउनु हुँदैन’ भन्ने ‘कोड अफ इथिक्स’ पालना गरेर बसिरहेको छ ।
खैर, बाउकेन्द्रित हुन चाहन्छु ।
बाउको सायद सेनाका केही ठूलाबडासँग राम्रै सम्बन्ध थियो । त्यसैले उनले डेढ लाखको भाउलाई पैँतीस हजारमा झारेका थिए । यति रकम खर्च गरेर उनी मलाई राजाको सिन्दुर लगाइदिन चाहन्थे ।
‘भोटे खत्रीको साइँलो छोरो लप्टन भयो रे’– उनी गाउँलेका मुखबाट यो महान् वाक्य सुन्न चाहन्थे । नाम कृष्णबहादुर भए पनि गाउँमा उनी बाल्यकालको यही नाउँबाट सम्बोधित थिए, प्रसिद्ध थिए ।
‘सेकेन लप्टनले बिहे गर्दा बग्गी पाउँछ, घर बनाउँदा सिपाहीलाई काम लाउन पाउँछ…’ सेकेन्ड लेफ्टिनेन्टका सेवासुविधा र ‘प्रिभिलेज’माथि फुर्सद पाउनासाथ बाउ प्रवचन दिनथालिहाल्थे । यस्तो प्रवचन खासगरी बेलुका भात खाने बेलामा चालु हुन्थ्यो । उनी बीच–बीचमा ‘बुठ लार ग्य्राप ग्य्राप’ भन्न छुटाउँदैनथे । मानौँ, यो उनको आदर्श वाक्य थियो ।
आमालाई दिक्क लाग्थ्यो ।
‘के खानेबेलाँ कराइरा भन्या ? जहिले पनि भात छोडेर हिँड्छ । यल्लाई मनै छैन । दुःख पनि गर्न सक्दैन यल्ले ।’ आमालाई मेरो रुचि÷अरुचिको पर्वाह थियो, चिन्ता थियो । तब न आमा । बाउ भन्या जातै कठोर हुन्छ ।
‘यो उइलेदेखि दमाईंकामीको लिडर भ’र हिँड्या मान्छे ! के गतिलो हुन्थ्यो ?’ बाउ मलाई यसरी प्रहार गर्थे ।
स्कुले जीवनमा म उग्र फुटबलप्रेमी थिएँ । राम्रो पनि खेल्थेँ । फुटबल त्यतिबेला आफैँमा खराब खेल थियो । पढाइ छोडेका, आबारा केटाहरूको खेल । मेरो फुटबल मोह देखेर आमा चिन्तित हुन्थिन् । तर, फुटबल खेलाडी बन्ने खालको महŒवाकांक्षा थिएन मसँग । त्यतिबेला कोहीसँग पनि हुँदैनथ्यो । यत्ति हो, फुटबलले मलाई त्यस्ता मान्छेहरूसँग जोड्थ्यो, जसको कुनै भविष्य थिएन । तर, फुटबल खेल्दा उनीहरूले यस्तो गति र ऊर्जा देखाउँथे कि म आफूलाई फुटबल ग्राउन्डमा जति जीवन्त अन्त कतै पाउँदिन थिएँ । बाह्र–पन्ध्र जना मिलेर एउटा फुटबल किन्नु ठूलो उत्सव हुन्थ्यो । सत्तरी रुपैयाँमा पाँच नम्बरको फुटबल पाइन्थ्यो । म सधैँ क्याप्टेन । गाउँको टोलीमा पनि, स्कुलमा पनि । गाउँको टोलीमा थुप्रै दलित केटाहरू थिए । उनीहरू पढ्न जाँदैनथे । श्रम गर्न थालिसकेका थिए । फुटबलले मलाई उनीहरूसँग जोड्यो, उनीहरूको झुर सामाजिक हैसियतसँग परिचय गरायो । म उनीहरूको असल मित्र भएँ । उनीहरू मेरा असल मित्र भए । फुटबल खेल्दा ग्लुकोज पानी खाइन्थ्यो । म उनीहरूको जुठो खाइदिन्थेँ । एक जना छुल्याहाले बाउलाई कुरा लाइदिएछ । बाउले जात्रा गरे, दमाईंकामीको जुठो खाने भनेर । र, मेरो नाम राखिदिए– ‘दमाईंकामीको लिडर’ । अत्यन्त आक्रोशित हुँदा उनी मलाई यसो भन्ने गर्थे ।
मलाई सेकेन्ड लेफ्टिनेन्ट बनाउने बाउको महान् सपनाका पछाडि उनका आफ्नै कुण्ठा र अतृप्ति थिए । कवि ल्याङ्सटन ह्युजले ‘ए ड्रिम डिफर्ड’ शीर्षकको कवितामा भनेजस्तो ‘अपूरो सपना अन्ततः विष्फोट हुन्छ ।’ अघि नै भनेँ बाउको सपना विष्फोट हुन खोजिरहेको थियो ।
बाउ झगडालु स्वभावका थिए । तीस वर्षभन्दा बढी सेनामा काम गरे पनि उनी सिपाहीको सिपाही नै रहे । हवल्दार पनि हुन सकेनन् । आफूभन्दा सिनियरलाई सधैँ पिटिदिने रे । प्रमोसन हुने बेलामा कुनै न कुनै लफडामा उनी संलग्न भइहाल्थे । सेनामा कहिल्यै प्रमोसन नपाएका उनी मलाई सेकेन्ड लेफ्टिेन्ट बनाएर आफ्नो अतृप्त सपना पूरा गर्न चाहन्थे सायद ।
तीनचार वर्ष लगातार उनले मलाई दसैँमा चिफ साबको हातको टीका लगाउन सुन्दरीघाट लिएर गए । सानै थिएँ, घिसारिएर पुग्थेँ । ती सेनाका चिफ थिए कि के थिए, मलाई हेक्का छैन । उनको घरको बैठककोठाको भव्यता अझै पनि याद छ । विशाल कालीन, रातो आसन (या सिंहासन), टीका र जमरा राख्ने चाँदीको ठूलो पानसजस्तो थाली अहिले पनि सम्झिन्छु । भित्तामा टाँगिएको जरायोको टाउको पनि बिर्सेको छैन, जो त्यहाँ आउने चाकरीबाजका एक–एक तमासा एकटकले र निर्लिप्त भावले हेरिरहन्थ्यो । बाउ टीका थापेपछि आँशु झार्थे र म फुच्चेलाई देखाउँदै भन्थे, ‘यसलाई केही बनाइदिबक्सनुपर्छ हजुरले ।’ बाउ सायद मलाई सेकेन्ड लेफ्टिेन्ट बनाउने आधारभूमि या चाकरीभूमि तयार पार्दै थिए ।
तर, चारपाँच कक्षा पढ्दैताका मैले तय गरिसकेको थिएँ– जीवनमा सिपाही बन्नेछैन । एउटा घटनाले मलाई त्यो अठोट गर्न बाध्य पारेको थियो । गाउँमा घट्टचौर नाम गरेको ठूलो चौर थियो । त्यहाँ बेरोजगार गाउँलेको बाह्रमासे खाल जम्थ्यो । बंगुर चराइन्थ्यो । बंगुरका गोलाकार ढिक्कावाल विष्टा जहीँतहीँ हुन्थे । दसैँमा यहाँ पिङ हालिन्थ्यो । गाउँमा सभासम्मेलन, नाच्नेगाउने कार्यक्रम गर्नलाई घट्टेचौर अत्यन्त उपयोगी थियो । चउरको छेउमा पानीघट्ट थियो । त्यसैले घट्टेचौर भनिएको होला ।
त्यतिबेला, ४५÷४६ सालतिर फर्पिङ जाने बाटोमा पर्ने हात्तीवनमा दुईतीन महिना बिराएर सेना क्याम्प बस्न आउँथ्यो । रातभरि फायरिङ हुन्थ्यो ।
सिपाहीको एक झुन्ड बिहान घट्टेचौर आइपुगेको थियो । बीस÷पच्चीस जनाको झुन्ड । हामीलाई रमिता भयो । सिपाहीहरू प्रत्येकले चुलो बनाएर भात पकाउन थालेका थिए । एक जना भने फ¥याकफुरुक गर्दै थ्यो । कमान्डर हुँदो हो त्यो ।
सिपाहीहरूले भात पकाएर खाइ पनि सके । कति चाँडो ! हामी केटाकेटी छक्क परेर हेरिरहेका थियौँ । यत्तिकैमा त्यो कमान्डरले एक जना सिपाहीलाई आमाचकारी गाली गर्न थाल्यो । त्यस्ता गाली मेरा निम्ति नौला थिएनन् तर जति तीव्रता र क्रुद्धताका साथ कमान्डरले गाली गरिरहेको थियो, त्यो भने मेरा निम्ति नितान्त नौलो थियो । एकैछिनपछि कमान्डरले सिपाहीको ढाड, पेट र तिघ्रामा लात्तैलात्ताले हान्न थाल्यो । लडेको सिपाहीमाथि ऊ बुट बजारिरहेको थियो । हामी केटाकेटीको सातो उड्यो । पछि थाहा पायौँ– दश कि पन्ध्र मिनेटभित्र भात पकाएर खाइसक्नुपर्ने नियम हुँदो रहेछ । त्यो सिपाहीले निर्धारित समयभित्र सो काम गर्न नसकेको रहेछ । त्यही अपराधको सजाय पाएको थियो उसले । यस घटनाले मेरो समवेदनालाई यसरी अँठ्याइदिएको थियो कि मेरा निम्ति सेना भनेको केवल क्रुरताको पर्याय भयो । र, बुट त्यही क्रुरताको एउटा स्वरूप थियो ।
उता बाउ भने ‘बुठको ग्य्राप ग्य्राप’ले मोहनीदंशित थिए ।
ग्य्राप ग्य्राप ! यी दुई शब्द उनी अत्यन्त फूर्तिसाथ र प्रेमपूर्वक उच्चारण गर्थे ।
मेरा निम्ति भने यी दुई शब्दले कहिल्यै कुनै सुन्नलायक ध्वनि निकालेनन् । यद्यपि, जुत्ताले पैदा गर्ने आवाजको सौन्दर्य मलाई थाहा छ । युवतीले धारण गरेकी हाइहिलको ‘टक टक’मा हुने मिठासको पारखी हुँ म । कुनै मजदुरले लगाउने सस्तो चप्पलको ‘पट्याक पट्याक’मा पनि संगीत भेटेको छु । अन्य खाले जुत्ताको ‘ढ्याप ढ्याप’ मा लय हुन्छ एउटा । तर, बुटको ‘ग्य्राप ग्य्राप’ले मलाई कहिल्यै तानेन ।
सैनिक सेवाप्रति मलाई उदासीन बनाउने अर्काे कारण थियो, त्यो पनि बाल्यकालमै जानेको । यसको शपथ । हामीले सुनेका थियौँ– सिपाहीले ‘बाउलाई काट्छुु, आमालाई झुन्ड्याउँछु’ भनेर किरिया खानुपर्छ रे । ‘यस्तो भनेर पनि जागिर खान्छन् ?’ मेरो बालमस्तिष्क तरंगित र उद्विग्न हुन्थ्यो ।
बाउले आमालाई दुःख दिएको देख्दा, कुटेको देख्दा कहिलेकाहीँ म त्यही शपथ सम्झन्थेँ । र, तर्कना गर्थें– ‘यो मुला बाउलाई प¥यो भने काट्न केको आइतवार !’
पचपन्न सालमा बाउ बिते । उनको सपना अधुरै रह्यो । र, म एकहिसाबले सेनाको जागिर खानुपर्ने बाध्यताबाट मुक्त भएँ । अहिले पनि बुट लगाएका सुरक्षाकर्मी देखेँ भने उसको हिँडाइबाट आउने आवाजभन्दा पहिले मेरा कानमा बाउले खुब स्वाद लिएर भन्ने गरेको ‘ग्य्राप ग्य्राप’ आउँछ ।
–गोरखा सैनिक आवाजबाट