Thu. Apr 25th, 2024

मञ्जु महत स्टेज कार्यक्रममा असाध्यै व्यस्त गायिकामध्ये पर्छिन् । लाइभ दोहोरीमा निकै जमेकी मञ्जुले ‘नभन है कसैलाई’, ‘हिरामोतीझैँ’लगायत पाँच वटा एल्बम बजारमा ल्याएकी छिन् र ३५ वटाभन्दा बढी गीतमा मोडलिङ गरेकी छिन् ।
तपाईंलाई ‘स्टेज क्विन’ भन्दा रहेछन् । स्टेज कार्यक्रममा तपाईंको निकै डिमान्ड छ हो ?
म लाइभ दोहोरीमा राम्रोसँग जम्ने मान्छे हुँ । त्यसैले भनेका होलान् ।
वर्षमा कति स्टेज कार्यक्रममा पुग्नुहुन्छ ?
महोत्सव हुने चार महिना त कुनै दिन यत्तिकै बस्न पाइँदैन । त्यसपछि चाडबाडका अवसरमा धेरै कार्यक्रम गरिन्छ । अरू बेला त महिनाको दुइटाजति कार्यक्रम पर्छन् ।
२०६१ सालमा राष्ट्रिय दोहोरी प्रतियोगिता जितेपछि गायनलाई करिअरकै रूपमा अगाडि बढाउनुभएको हो ?
होइन, त्यसअघि पनि गाउँथेँ । पिएन क्याम्पसमा पढ्दा धेरै कार्यक्रममा दोहोरी गाइसकेकी थिएँ । त्यो दोहोरी प्रतियोगिताले मेरो गायन करिअर स्थापित गर्न सघायो ।
प्रतियोगिता जितेपछि काठमाडौँ बस्न थाल्नुभएको हो ?
त्यसको दुई वर्षअघि पनि काठमाडौँ आएकी थिएँ । तर, यहाँको माहोलमा भिज्न सकिनँ र पोखरा फर्किएँ । त्यो प्रतियोगिता जितेपछि दोहोरी साँझमा गाउन अफर गर्ने धेरै भएपछि यतै बसेँ ।
तपाईं त हिरोइन बन्न चाहनुहुन्थ्यो रे !
सानोमा गीत सुनेपछि गायिका बन्छु र फिल्म हेरेपछि हिरोइन हुन्छु भन्ने लाग्थ्यो । दुवै क्षेत्रमा करिअर बनाउने उत्तिकै रहर थियो ।
हिरोइन बन्नका लागि केही गरियो त ?
आफ्नै स्वरमा एल्बम निकाल्नुअघि म मोडलका रूपमा यो क्षेत्रमा प्रवेश गरेकी हुँ । त्यसैले हिरोइन बन्छु भनेर डान्स सिकेँ । म १८ वर्षकी हुँदा ‘आमाका आशीर्वाद’ भन्ने फिल्ममा राजेश हमालकी काकी भएर अभिनय पनि गरेकी थिएँ ।
त्यताबाट कसरी मन भाँच्चियो ?
पहिलो गाँसमै ढुंगा लाग्यो । एक जना निर्देशकले पहिलो भेटमै हिरोइन बनाउने नाममा घटिया प्रस्ताव राखे । त्यसपछि त्यो दुनियाँ मेरा लागि होइन भनेर म पूरै गायनतिर लागेँ ।
हिरोइन बन्ने रहर दोहोरी गीतकी मोडल भएर पूरा गरिरहनुभएको हो ?
त्यस्तै भन्नुप¥यो । धेरै पनि गरेकी छैन । अहिलेसम्म २५ वटा जतिमा गरेँ होला ।
कसैलाई ‘जमेर देखाउँछु’ भन्ने ईखले गायन क्षेत्रमा लागेको रे तपाईं ?
पोखरामा क्याम्पस पढ्दै गर्दा दोहोरी साँझमा पनि काम गर्थें । तर, केही साथीले दोहोरीमा मेरो सवाल÷जवाफ गर्ने तरिका गतिलो छैन भनेर कुरा काटे । त्यसपछि म राम्रो गर्छु भनेर सबै प्रतियोगितामा भाग लिनथालेँ र अन्त्यमा लोक दोहोरीको सबैभन्दा ठूलो राशिको ‘किङफिसर दोहोरी प्रतियोगिता’ नै जितेँ ।

%d bloggers like this: