Tue. Apr 16th, 2024

तल खोला, माथि खुला आकाश । टेक्ने ठाउँको नाममा दुई इन्च मोटाइको फलामे तार । समात्ने चिज कतै केही छैन । अलिकति सन्तुलन बिग्रियो भने सिधै १५ सय फिट तल बगिरहेको खोलामा पुगिन्छ ।
एकजना दुस्साहसीले त्यही दुई इन्च मोटाइको फलामे तारमा सडकमा झैँ ठमठम हिँडेर झन्डै आधा किलोमिटर (४०२ मिटर) यात्रा गरे । उनको नाम हो– निक वालेन्डा । सोमवार संयुक्त राज्य अमेरिकाको एरिजोनास्थित लिटिल कोलोराडो गोर्जमाथि टाँगिएको फलामे तारमा हिँडेर विश्वलाई नै चकित पारे । अचम्मको कुरा के छ भने एक हजार पाँच सय फिट उचाइको ग्य्रान्ड क्यान्योनमाथिको तारमा ठमठम हिँड्दा उनले कुनै सुरक्षा सावधानी अपनाएनन् ।
उक्त यात्रा तय गर्न ३४ वर्षे वालेन्डालाई २२ मिनेट लाग्यो । यात्रा क्रममा लट्ठाको हल्लाइसँग ताल मिलाउन उनले दुईपटक घुँडा खुम्च्याएका थिए । उनले यात्रा अवधिभर ईश्वरको नाम लिइरहे । अधिकांश यात्रा बिस्तारै र एकनासले तय गरेका वालेन्डाले गन्तव्यमा पुग्नै लाग्दा कुद्ने र उफ्रने पनि गरे ।
तीन छोराछोरीका बाबुले यात्रामा एउटा माइक्रोफोन र दुइटा क्यामरा शरीरमा जडान गरेका थिए । वालेन्डलाई किशोरवयदेखि नै ग्य्रान्ड क्यानोन पार गर्न पाए कस्तो होला भन्ने लागि रहन्थ्यो रे । यस्तो जोखिमपूर्ण खेललाई सामान्य ठान्ने प्रसिद्ध फ्लाइङ वालेन्डा सर्कस परिवारका सदस्य हुन् उनी । उनका बराजु कार्ल वालेन्डा पोर्टाेरिकोमा यस्तै प्रदर्शनीको सिलसिलामा खसेर ७३ वर्षको उमेरमा बितेका थिए । उनका काका पनि तारमाथि हिँड्दा खसेर मरेका थिए । वालेन्डाको दुस्साहसी कदमलाई डिस्कभरी च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो ।
न्युयोर्कको क्रिसलर र एम्पायर स्टेट बिल्डिङबीचको लट्ठामा हिँड्ने उनको रहर अझै पूरा हुन बाँकी छ ।

%d bloggers like this: