Sat. Apr 20th, 2024

बलिउड इन्डस्ट्रीमा यतिबेला ‘भाई-भतिजावाद’ (नेपोटिज्म) को बहस चर्किएको छ । सुशान्त सिंह राजपूतको निधनपछि छेडिएको यो मुद्धामा बलिउडका धेरै कलाकारले आफ्नो विचार राखिसकेका छन् । यसको असर यतिबेला फिल्मको रिलिजमा पनि देखिन थालेको छ । ‘सडक २’ को विरुद्ध देखिएको प्रतिक्रियापछि अब ‘कुली नम्बर १’ लाई पनि बहिष्कारको माग उठेको छ ।
डेविड धवन निर्देशित फिल्ममा अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खानको मुख्य भूमिका छ । भारतीय मिडियाका अनुसार, यो फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारी भइरहेको छ । कोरोनाका कारण सिनेमा हल बन्द भएपछि फिल्मलाई डिजिटल रिलिज गर्ने सोचमा डेविड छन् । फिल्मको डिजिटल राइट्स महंगो मुल्यामा विक्री भएको बताइएको छ ।
‘कुली नम्बर १’ ओटीटी प्लेटफर्ममा रिलिज हुने चर्चा चलिरहँदा सामाजिक सञ्जालमा फिल्मलाई बहिष्कारको माग उठेको छ । ट्विटरदेखि फेसबुक प्रयोगकर्ताले फिल्म नहेर्ने र फिल्मका ट्रेलर र गीतसंगीतमा डिसलाइक गर्न अभियान चलाउने बताएका छन् । यो फिल्ममा कलाकारदेखि निर्देशक/निर्मातासम्म फिल्मी परिवारसँग जोडिएका कारण फिल्म बहिष्कारको माग उठेको हो ।
सन् १९९४ मा आएको गोविन्दाको सुपरहिट फिल्म ‘कुली नम्बर १’ लाई पनि डेविड धवनले बनाएका थिए । यसको रिमेकमा भने गोविन्दा छैनन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले फिल्म बहिष्कारको माग उठाएपछि निर्देशक धवनले फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गर्ने वा नगर्ने विषयमा निर्णय लिन सकेका छैनन् । फिल्म सिधै हलमा पनि रिलिज हुनसक्ने बताइएको छ ।

फिल्मीखबर

Leave a Reply

%d bloggers like this: