दायाँबायाँ गरेर टुप्पोमा पुग्नु छैन- नन्दिता केसी

मनोरंजनसंसार डटकम | Wednesday, January 1st, 2014

नेपाली फिल्म क्षेत्रमा हिरोइनलाई आउन, जम्न र टिक्न गाह्रो छ भनिन्छ । अझ ‘नम्बर वान’ बन्ने महŒवाकांक्षा भएकाहरूले नानाभाँती सम्झौता गर्ने कुरा ‘ओपन सेक्रेट’ भइसकेको छ । यस मामिलामा नन्दिता केसीलाई सोझी हिरोइन भनेर चिनिन्छ । उनीसँग सजना बरालले गरेको अन्तरंग कुराकानीः 

फिल्म खेल्न छोडिहाल्नुभयो । फुर्सदमै त हुनुहुन्छ होला नि हिजोआज ?
कहाँ फिल्म खेल्न छोड्नु ? खेलिरहेकी छु त । त्यतिबिघ्न फुर्सदिली पनि छुइन । कार्यक्रमका लागि देश, विदेश डुलिरहन्छु । म्युजिक भिडियोमा खेल्ने काम भइरहेकै छ । फिल्महरू पनि आइरहेका छन् नि मेरा । शिव रेग्मीले निर्देशन गरेको फिल्म ‘पराई’ चाँडै रिलिज हुँदै छ ।
बजारमा त तपाईंले कामै पाउन छाडेको स्थिति हो भन्ने हल्ला छ नि ?
काम गर्न खोज्नेले काम नपाउने त कुरै हुँदैन । अहिलेभन्दा पनि केही समयअघि चाहिँ ग्याप भा’थ्यो । दुई वर्षजति केही गरिनँ ।
किन ?
मेरो स्किन (छाला) मा समस्या भा’थ्यो । डाक्टरले मेकअप छुँदै नछुनु भनेका थिए । मेकअपबिना फिल्म खेल्ने कुरो भएन । त्यसैले घरमै बसियो । र, अर्को कुरा के पनि भयो भने, त्यो बेला म लेडिज स्टोर खोल्ने विचारमा थिएँ । त्यसका लागि पनि समय छुट्याउनुपरेको थियो । तर, विदेशबाट प्रोग्रामका अफर आकोआयै भएकाले स्टोर खोल्न पाइनँ । अब खोल्नुपर्ला ।
विदेशमा प्रोग्राम गर्दा चाहिँ मेकअप गर्नु पर्दैनथ्यो ?
खासमा मेरो अनुहारमा सन–बर्न भएको थियो । त्यसैले घाममा निस्किन मिल्दैनथ्यो । तर, विदेशका कार्यक्रमहरू इन्डोर हुने भएकाले हल्का मेकअप चलाइदिन्थेँ । मेकअपभन्दा पनि घामबाट जोगिनुपथ्र्यो ।
‘लेडिज स्टोर’ चाहिँ किन खोल्न खोज्नु भा’को ?
अहिले पो हिरोइन छु, काम पाइरहेकी छु । तर, यो रोल धेरै गर्न पाइन्न । हिरोइनको त अवधि हुन्छ । त्यो अवधि सकिएपछि बेरोजगार हुनु नपरोस् भनेर बिजनेसमा हात हाल्न खोजेकी हुँ ।
नेपाली हिरोइनहरूको भविष्य साह्रै असुरक्षित छ कि क्या हो ?
हिरोइन भनेको उमेर छउञ्जेलमात्रै हुने हो । त्यसपछि कि त क्यारेक्टर आर्टिस्ट भएर काम गर्नुपर्छ कि निर्माता, निर्देशक बन्नुप¥यो । निर्देशक बन्ने लक्ष्य छैन मेरो । बरु, निर्माता भइएला । तर, त्यसका लागि आफूसँग स्रोत हुनुप¥यो । स्रोत जुटाउनका लागि पनि यसो सानोतिनो व्यापार–व्यवसाय गरौँ भन्ने लागेको हो । फेरि, म कमर्सको विद्यार्थी हुँ । व्यवसायमा लगाव पनि छ ।
लगाव त तपाईंको नर्सिङ पेशामा थियो हैन ?
हो नि । नर्स बन्नकै लागि काठमाडौँ आएकी थिएँ । तर, हिरोइन बनेँ । मैले बुटवलमा छँदा ‘यो कस्तो माया हो’ भन्ने फिल्म खेलेकी थिएँ । त्यसपछि, काठमाडौँ आएँ । यहाँ आएपछि ‘इन्द्रेणी’ फिल्ममा काम गरेँ । फिल्म चल्यो, मेरो डिमान्ड पनि बढ्यो । फस्र्ट फिल्म फ्लप भएको भए म नर्स बन्थेँ । तर, हिट भइदियो । नर्सिङतिर जाने मौकै मिलेन ।
पढाइ के गर्नुभयो ?
धेरै पढ्न पाइनँ । बाह्र कक्षाको जाँच दिनासाथ फिल्म खेल्न थालियो । त्यसपछि फिल्म खेल्दैमा ठिक्क भयो । पढाइ  र फिल्ममध्ये एउटा रोज्नुपथ्र्यो । मैले फिल्म रोजेँ ।
ठीक गरेजस्तो लाग्छ ?
यहाँसम्म आइपुगेकी छु, ठीकै छ नि । तर, पढ्नु चाहिँ पर्ने रै’छ । नपढेकोमा थकथकी हुन्छ । हुन त उमेर गएको छैन, अझै पनि कलेज ज्वाइन गरे हुने हो । तर, त्यस्तै त हो नि, के मिल्दैन के !
किताब पढ्ने बानी छ ?
छैन । केही पढ्दिनँ । पत्रपत्रिका र म्यागजिन हेर्छु । त्यत्ति हो ।
अर्घाखाँचीतिर कत्तिको गइन्छ ?
म त्यहीँ जन्मेहुर्केकी हुँ । दसैँ, तिहारमा जाने गरेकी छु अचेल । हाम्रो पालामा कस्तो विकट थियो । अहिले त हाम्रो गाउँ पनि विकसित भइसकेको छ । गाउँमा हस्पिटल थिएनन् । कोही बिरामी प¥यो भने दौडाउँदै बुटवल, काठमाडौँतिर ल्याउनुपथ्र्याे । त्यही देखेर मैले नर्स बन्छु भनेकी थिएँ ।
त्यस्तो ठाउँकी केटी तपाईं, फिल्म लाइन रोज्दा गाउँसमाजले के भने होलान् ?
मेरो परिवारले नै मलाई सपोर्ट गरेपछि समाजले के भन्न सक्छ ? बरु, मेरो प्रगति देखेर सबैले बुवाआमासँग ‘कस्ती लक्षणकी छोरी जन्माउनुभएछ’ भन्थे रे । मैले कहिल्यै कसैलाई कुरा काट्नुपर्ने अवस्था सिर्जना गरिनँ पनि ।
धेरै सोझी भएकाले जति माथि पुग्नुपर्ने हो, त्यति नपुगेको हो कि भन्ने लाग्दैन ?
म जहाँसम्म पुगेकी छु, त्यो नै काफी छ मेरा लागि । दायाँबायाँ गरेर टुप्पोमा पुग्नुछैन । नम्बर वान बन्ने चक्करमा जे पनि गर्दै हिँड्दिनँ । सोझी नै ठीक छु, बांगिनुप¥या छैन मलाई ।
हिरोइन हुन त बांगिनैपर्छ भन्छन् । गर्न हुने, नहुने सबै काम गर्नुपर्छ रे नि ?
त्यस्ता कुरा मलाई थाहा छैन । मैले नभोगेको र मेरो आँखाले नदेखेको कुराबारे म के भनौँ ?
आजसम्म केही कम्प्रोमाइज गर्नुपरेको छैन उसोभए ?
पारिश्रमिकमा कम्प्रोमाइज गरेकी छु । हिरोलाई जति पारिश्रमिक हिरोइनलाई दिइँदैन । चित्त दुख्छ । तर, के गर्नु यस्तै छ यहाँको चलन ।
‘द युगदेखि युगसम्म’मा त तपाईं सोझीबाट एक्कासि ‘बोल्ड’ हिरोइनमा देखापर्नु भा’थ्यो नि ?
राजेश (हमाल) दाइसँगको किस सिनको कुरा गर्नुभएको होला । जाबो चारपाँच सेकेन्डको लिप किस, त्यो पनि बढी त चिटिङ गरेर खिचिएको थियो, लाई कत्रो इस्यू बनाइएको होला ? त्यो बेला त्यसलाई यस्तरी बढाइचढाइ गरियो, मानौँ हामीले अपराधै गरेका हौँ । लिप किसलाई टङ किस भनेको सुन्दा पो हाँस उठेको थियो त !
पर्दामा त टङ किस नै गरेजस्तो देखिन्छ…
अलि घोरिएर हेर्नोस् न, लिप किस हो । लिप किस र टङ किसमा कति फरक छ । तर, जे भए पनि त्यो असामान्य चाहिँ होइन । हामीभन्दा अघि कतिले त्यस्तो सिन दिएका छन् । राजेश दाइ र मेरो किसमा चाहिँ किन त्यत्रो हल्ला गरिएको हो कुन्नि ?
तपाईं प्रायः रुञ्चे केटीको भूमिकामा देखिनुहुन्छ । रुँदा–रुँदा वाक्क लाग्दैन भन्या ?
हुन त म रिएल लाइफमा एकदमै ‘ह्याप्पी पर्सन’ छु । तर, फिल्ममा चाहिँ मलाई रोएकै सुहाउँछ रे । त्यस्तै रोल दिन्छन् ।
जे पाइन्छ त्यही खेल्नुको सट्टा अलि छानेर फिल्म खेले हुन्थ्यो नि ?
छानेरै खेल्छु । मैले अरू प्रकारका रोल पनि गरेकी छु नि । ‘मालतीको भट्टी’मा स्ट्रङ केटी बनेकी छु । अब चाहिँ एक्सन हिरोइन बन्ने रहर छ ।
नाम किन परिवर्तन गर्नुभयो आफ्नो ?
मेरो नाम शोभा केसी हो । नागरिकता, पासपोर्टमा शोभा नै लेखिएको छ । पहिलो फिल्म ‘इन्द्रेणी’मा म नन्दिताको भूमिकामा थिएँ । त्यो फिल्म रिलिज भएपछि सबैले मलाई नन्दिता भन्न थाले । पत्रपत्रिकामा समेत नन्दिता भनेर लेखियो । त्यसपछि मैले पनि आफूलाई नन्दिता नै भनेर चिनाउन थालेँ ।
थर पनि फेरेको हो रे त ?
यो चाहिँ हावा कुरा हो । हामी ठेट बाहुनबाट खसेका क्षत्री (केसी) हौँ । यहाँ ‘चोट लाग्यो भन्यो भने अपरेसनै गरियो’ भनेर हल्ला गरिन्छ । मेरो नाउँ–थरको मामिलामा त्यस्तै भएको हो ।
अब साँच्चीकै थर फेर्ने बेला भयो होला नि ?
बिहे ? त्यो त लगन जुरेपछि मात्रै हुन्छ ।
जुरेपछि होइन, जुराएपछि हुन्छ ।
जुराउने बेला भएको छैन । खासमा बिहेबारे सोच्नै चाहेकी छैन मैले ।
तपाईं बडो अप्ठ्यारो प्रेम–सम्बन्धमा हुनुहुन्छ भन्ने सुनिन्छ । त्यसकै कारण गाह्रो परेको त होइन ?
आजसम्म मेरो कसैसँग अफेयर चलेको छैन । त्यसैले, गाह्रो– अप्ठ्यारो पर्ने कुरै भएन ।
गालामा डिम्पल बस्ने, यस्ती राम्री हिरोइनको पनि अफेयर नहोला त ? कसरी पत्याउनु ?
छाती फोरेर देखाउन सकिन्न । पत्याउने÷नपत्याउने तपाईंको कुरा भयो । तर, धरोधर्म मेरो ब्वाइफ्रेन्ड छैन ।
ब्वाइफ्रेन्ड बनाए भैहाल्यो नि त । राति सिरानी च्यापेर सुत्नु हुन्छ रे ? हामीले पत्रपत्रिकामा पढेका हौँ यो कुरा ।
सोध्नेले जसरी सोधे मैले त्यसरी नै उत्तर दिएकी थिएँ । उहाँले ‘कहिलेसम्म सिरानी च्यापेर सुत्ने ?’ भन्नुभएको थियो । मैले ‘बिहे नभएसम्म’ भनिदिएकी थिएँ । उहाँले अरू के–के सुन्नु भयो, दैव जानून् ।
जे भए पनि सिरानी च्याप्ने बानी त रहेछ नि...
होइन, यसलाई अर्को सेन्सले नबुझ्नुस् न । मैले सोझो तरिकाले भनेकी हुँ, सोझै तरिकाले बुझिदिनुहोला । कुरालाई बढाइचढाइ गर्ने रोग छ हाम्रो ।
त्यस्तो हुने भए त तपाईहरूले पनि आवाज उठाउन सक्नुपर्ने हो  । किन चुप लाग्नुहुन्छ ?
मेरो केसमा त म चुप लाग्दिनँ । मैले कति जनालाई ‘बुझेर बोल्नुुस्’ पनि भनेकी छु । तर, हामीले आवाज उठाउनु भनेको काग कराएसरह हुन्छ । त्यसैले, जसले जे सुकै भनून्, वास्तै नगरी खुरुखुरु आफ्नो काम गर्ने चलन छ ।
कतिले त चर्चामा आउन चाहिने÷नचाहिने बोल्ने र नानाथरी गर्ने गर्छन् । तपाईंको पनि यो स्ट्र्याटेजी हो कि ?
होइन, होइन । मैले भनेँ नि, मलाई जे पायो, त्यही काम गरेर हिट हुनु छैन । म जहाँ छु, त्यहीँ ठीक छु । मान्छेहरू यहाँसम्म आउन के–के गर्छन्, म सजिलै आइपुगेकी छु । यो नै ठूलो कुरा हो, मेरा लागि ।
शुक्रवारबाट

Facebook Comments