१२ वर्षपछि फिल्म निर्देशन गर्दै शम्भु, दिक्पालको डेब्यु

काठमाडौं, ४ बैशाख । निर्माता तथा निर्देशक शम्भु प्रधान १२ वर्षको अन्तरालपछि चलचित्र निर्देशनमा फर्केका छन् । पछिल्लो समय ‘नेपाल प्यारो छ’ निर्माण÷निर्देशन गरेका प्रधानले चलचित्र ‘रंग बैजनी’ निर्माण गर्ने घोषणा गरेका छन् । चलचित्र निर्माणको घोषणासँगै निर्देशक प्रधानले केही कलाकार तथा प्राविधिक पनि डेब्यु गराउँदैछन् । चलचित्र ‘रंग बैजनी’मार्फत मोडल दिक्पाल कार्की अभिनेतामा डेब्यु गर्दैछन् । पाँच वर्षयता मोडलिङ क्षेत्रमा क्रियाशील दिक्पालसँगै ‘रंग बैजनी’ मार्फत निर्देशक प्रधानले छायांकार रुपमा आफ्नै छोरा ससांक प्रधानलाई डेब्यु गराउँदैछन् भने दीप प्रधानलाई संगीतकार बनाउँदैछन् । दीप बलिउडमा बरिष्ठ छायांकार विनोद प्रधानका छोरा हुन् । हलिउडमा संगीत प्रशिक्षण लिएका दीपको ‘रंग बैजनी’ संगीकारका रुपमा डेब्यु चलचित्र हो । उनले ‘रंग बैजनी’ का लागि गीतसमेत तयार गरिसकेका छन् ।
मोडलका रुपमा ख्याती कमाएका दिक्पाल चलचित्र ‘रंग बैजनी’ मा सोलो हिरोका रुपमा देखिन लागेका हुन् । चलचित्रमा अनुबन्धित भएपछि दिक्पाले भने, ‘म निकै खुसी छु । शम्भु प्रधानजस्ता बरिष्ठ निर्देशकको चलचित्रमा डेब्यु गर्न पाउँदा मेरो एउटा इच्छा पूरा भएको महशुस गरेको छु ।’ यसअघि पनि थुप्रै चलचित्रको प्रस्तावलाई रिजेक्ट गरेर बसेका दिक्पालले भने, ‘मेरो चाहना सोलो हिरोका रुपमा आउनु थियो । त्यसैले सानोतिनो भूमिकाका लागि आएको प्रस्ताव छाडेको हुँ ।’
म्युजिक भिडियो, विज्ञापन तथा ¥याम्प मोडलिङमा दिक्पालले आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । उनले मोडलिङमा जस्तै चलचित्रबाट पनि सफलता पाउने आत्मविश्वाससहित भन्छन्, ‘कलाकार सफल हुनका लागि चलचित्रको विषयवस्तु गहन हुनपर्छ । यस हिसाबले रंग बैजनीबाट करिअर अगाडि बढाउन सक्छु भन्ने ममा आत्मविश्वास छ किनकि चलचित्रको सबै कथावस्तु पढेको छु । एकदमै राम्रो छ ।’ अर्को कुरा निर्देशक प्रधान कुनै समय कहलिएका निर्देशक हुन् ।
‘स्वर्ग’, ‘आर्शीवाद’, ‘बेहुली’ ‘सम्झना’, ‘सम्पति’, ‘१६ वर्षे जोवन’ जस्ता नेपाली चलचित्रको निर्माण÷निर्देशन गरेका प्रधानले पछिल्लो समय ‘नेपाल प्यारो छ’ निर्माण गरेका थिए । त्यसपछि उनी चलचित्र क्षेत्रबाट ओझेलमा रहेर नुतन फिल्म स्टुडियो सञ्चालनतिर लागेका प्रधानले ‘रंग बैजनी’ निर्देशन गर्न तम्सिएका हुन् । नुतन प्रधानको कथा÷संवाद रहने ‘रंग बैजनी’ मा जीवनका रंगहरु उतार्ने जमर्को निर्देशक प्रधानले गरेका छन् । चलचित्रमा मुख्य अभिनेतामा देखिन लागेका दिक्पालका अनुसार ‘रंग बैजनी’ मा मान्छेका सबै रंगहरु मिश्रित हुनेछन् । ‘बैजनी’ को अर्थ पनि यही हुन्छ । विभिन्न किसिमका रंग मिसाएपछि बैजनी रंग बन्छ । त्यसैले जीवनका रंगहरु मिश्रित चलचित्र भएकाले ‘रंग बैजनी’ शिर्षक राखिएको निर्माणपक्षको भनाइ छ ।
चलचित्रमा दिक्पालसँग दुई अभिनेत्री देखिने भएका छन् । ‘रंग बैजनी’ मा अभिनेत्री गरिमा पन्त र सुमिना घिमिरे दिक्पालको अभिनय रंगमा बैजनी हुनेछन् । यसै सातादेखि चलचित्रको छायांकन काठमाडौबाट सुरु हुने बताइएको छ ।