Sat. Oct 26th, 2024

काठमाडौं, ३ बैशाख । वर्ष २०७० ले नेपाली चलचित्र क्षेत्रमा थुप्रै कलाकार जन्मायो । चलचित्रले व्यवसायिक रूपमा सफलता हासिल गर्न नसके पनि संख्यात्मक वृद्धिले नवकलाकारलाई राम्रै फाइदा भयो । ०७० सालमा यस्ता नयाँ अनुहारको आगमन भयो, जसले उज्ज्वल भविष्यको संकेतसमेत दिएका छन् । तिनै प्रतिभामध्ये हुन्, नरेन खड्का ।
०७० को शुभारम्भसँगै नरेनले चलचित्र ‘हमेशा’ मार्फत आफूलाई नेपाली रजतपटमा डेब्यु गराएका हुन् । सो अवसर अभिनेत्री तथा निर्मात्री रेखा थापाले दिएका हुन् । रेखा फिल्मस्को ब्यानरमार्फत डेब्यु गरेका नरेनले हालै ‘प्रवास’ नामक चलचित्रमा अभिनय गरेका छन् । रेखाले अवसर दिएका सबैले राम्रै गरिरहेका छन् । यस्तै, नरेनले पनि यस्तै संककेत दिएका छन् । उनी भन्छन्, ‘राम्रै ब्यानरबाट डेब्यु गरेकाले राम्रै ब्यानरमा मात्र काम गर्ने सोच बनाएको छु ।’ रेखाको ‘हमेशा’ पछि केही महिनाको अन्तरालमा ‘प्रवास’ मा अभिनय गरेका नरेनले भने, ‘प्रवास पनि राम्रै ब्यानरको चलचित्र हो । केही महिना हराउनु मेरो आफ्नै निजी कारण थियो । अब निरन्तरता दिनेछु ।’
‘प्रवास’ नारायण रायमाझी निर्देशित चलचित्र हो । ‘गोरखा पल्टन’ पछि पाँच वर्षको अन्तरालमा नारायणले ‘प्रवास’ बनाएका हुन् । उक्त चलचित्रमा अवसर पाउनुलाई नरेन आफू भाग्यमानी ठान्छन् । ‘गोरखा पल्टनजस्तो सफल चलचित्रका निर्देशक नारायण रायमाझीसँग काम गर्न पाउँदा खुसी लागेको छ’ उनले भने, ‘प्रवासको कामबाट सन्तुष्ट छु ।’ बिदेसिने युवाको कथामा केन्द्रित ‘प्रवास’ मा नरेनसँगै प्रशान्त तामाङ पनि देखिँदै छन् । प्रशान्तलाई ‘गोरखा पल्टन’ मा पनि नारायणले लिएका थिए । ‘गोरखा पल्टन’ मा अभिनय गरेसँगै प्रशान्तले गायकबाट अभिनेताको परिचय बनाएका हुन् । त्यसपछि यी इन्डियन आइडलले थुप्रै नेपाली चलचित्रमा अभिनय गरे तर ‘गोरखा पल्टन’ जस्तो सफल भएन ।
नरेन पनि ‘प्रवास’ बाट आशावादी छन् । रेखाको ब्यानर तथा छवि ओझा निर्मित चलचित्रबाट डेब्यु गरेको भए पनि उनी ‘प्रवास’ बाट अपेक्षाकृत छन् । भन्छन्, ‘हमेशा पनि सोचेभन्दा राम्रै भएको थियो तर म अझै प्रवासबाट बढी आशावादी छु ।’ हाल ‘प्रवास’ को पोस्ट प्रोडक्सन भइरहेको बताउँदै उनले भने, ‘अहिले पनि केही चलचित्रका लागि प्रस्ताव आइरहेको छ तर ब्यानर हेरेर मात्र अभिनय गर्ने सोच बनाएको छु ।’ थोरै तर गुणात्मक काम गर्ने आफ्नो मान्यता रहेको नरेनले सुनाए ।