Sun. Dec 22nd, 2024

काठमाडौं, फागुन २९  । अभिनेत्री रेखा थापाले निर्देशक श्याम भट्टराई बिरामी भएर काठमाडौं फर्केको भनेर फैलाएको खबर झुटो भएको छ । श्यामले बिरामी नभएर रेखाको महत्वकांक्षा, दबाब र न्युनतम लगानीमा फिल्म बनाउने इच्छाका कारण बाहिरिएको बताएका छन् । उनले प्रेस बिज्ञप्तिमार्फत भनेका छन्, ‘सुटिङ युनिटलाई खाने र बस्ने ब्यबस्था पनि राम्रो छैन । प्राबिधिकको शरिरमा घाउ छन् । ती सबैले देख्नेछन् ।’

 प्रेस विज्ञप्ति

२०७०/११/२८

आदरणीय पत्रकार मित्रहरु,
पछिल्लो समय म निर्देशकको रुपमा संलग्न रहेको नेपाली कथानक चलचित्र “हिम्मतवाली”को सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुबाट निर्मात्री रेखा थापाद्वारा निर्देशक अस्वस्थ भई उपचारका लागि काठमाडौं पठाइएको भनेर प्रेषित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यस सम्बन्धका भ्रमहरु चिर्दै वास्तविकतालाई यहाँहरु समक्ष राख्न आवश्यक ठानेर यो प्रेस विज्ञप्ति सार्वजनिक गर्दैछु ।

रेखा फिल्मस् जसले “अजम्बरी नाता” देखि आजको मितिसम्म निर्माण गरेका सम्पूर्ण चलचित्रले पाएको व्यवासयिक सफलतासँगै उसले गर्ने व्यवस्थित व्यवस्थापनका बारेमा हामी कोही अनभिज्ञ छैनौ । पुराना र अनुभवी निर्माता छविराज ओझासँग यति धेरै चलचित्र र यतिलामो सहकार्य गरेकी, झण्डै २०० चलचित्रमा काम गरेर सबैको चलचित्र निर्माण गर्ने तौरतरिका बुझेकी यी लोकप्रिय अभिनेत्री-निर्मात्री माथि पनि मलाई उत्तिनै भरोसा थियो ।

मेरो करिअरको एउटा अर्को सिढी थपिन्छ साथै एउटा स्तरीय चलचित्र निर्माणमा मद्दत मिल्छ यही सोचेर उहाँले दिएको निर्देशनको प्रस्तावलाई सहर्ष स्वीकार्नु मेरो निर्देशकीय धर्म थियो, मैले स्वीकारे । तर तयारीहरु अगाडि बढाइरहने क्रममा त्यो चुस्त व्यवस्थापनको जो मैले अपेक्षा गरेको थिए त्यो भइरहेको थिएन, मैले गुनासो गरिरहे । उहाँले त्यो सबै वातावरण दिन्छु, हुन्छ भनेर भनिरहनु भएको थियो । छायाङ्कनको मिति २०७०-११-१५ देखि तय भएको थियो । मैले १ हप्ता स्थानीय छायाङ्कन स्थलमा पुगेर निरीक्षण गर्ने समय माग गरे किनकी उहाँले उहाँ वाहेकका सम्पूर्ण कलाकार, आधी जसो प्राविधिक र बस्ने, खाने यातायात सबै उतैबाट मिलाएको जानकारी दिनुभएको थियो ।

म विश्वस्त हुन पनि अगाडि जानुपर्ने हुन्थ्यो । म मेरो सहायक बोकेर काठमाडौंबाट निस्किएँ । तर, अफसोच उहाँले म सुदूरपश्चिमको महेन्द्रनगर पुग्नु अघि नै अरु बाँकी यूनिटलाई हिडाइदिनुभयो, रोक्न अनुरोध गर्दा मान्नु भएन । म त्यहाँ ओर्लिएपछि थाहा भयो उहाँले विश्वास दिलाएको कुनै पनि कुराहरु तयारी त के पहल पनि भएको रहेनछ । अत्यन्तै अस्तव्यस्तताका साथ छाँयाङ्कन शुरु गर्नुपर्ने प्रेसरका बावजूद छाँयाङ्कन शुरु भयो, शायदै यस्तो गरी कसैले छायाङ्कन शुरु गर्ला । न कुनै प्रोडक्सन म्यानेजर, न कुक, न स्पटब्वाइज, न यूनिटलाई क्यामरा बोक्ने गाडी यतिसम्म कि जुन बस्तीमा १ महिना बस्नुपर्ने थियो त्यहाँ न ओढ्ने, ओछ्याउनेको व्यवस्था थियो ।

प्रोडक्सनबाट दिएको सुविधाको एउटै सिरकलाई डस्ना पनि, सिरानीपनि बनाएर बसेका ती अन्य कलाकार प्राविधिकहरुका जिउमा निस्किएका घाउ, खटिराका निशानहरु शायद एक महिनापछि प्रत्यक्ष सबैले देख्ने छन् । कलको पानी पिउनुपर्ने अवस्थाबाट बिरामी परेकाहरुको त कुरै छोडौं, उहाँ लोकप्रिय  अभिनेत्री-निर्मात्री त्यो बस्तीमा बस्ने कुरै थिएन , कतिपटक म आफूले स्थानीयको टायर गाडाको भाडा तिरेर रात बिहान छायाङ्कन गरेको ठाउँदेखि बसेको घरसम्म ल्याउन पु¥याउन ति सोझा प्राविधिहरुलाई दुःख दिएको छु ।

स्पटव्वाय नहुँदाको स्पटको दुःख, व्यवसायिक कुक नहुँदाको खानाको अस्तव्यस्तता, सुटिङ हेर्न आउनेलाई तान्दै कलाकार बनिदिन अनुरोध गर्नुपर्ने यावत झमेलाहरुसँग गुज्रिरहँदा एउटा निर्देशकले आफ्नो सृजनशिलताको कतिको सदुपयोग गर्न सक्ला ? यति हुँदाहुँदै पनि आफैले सहेर, आफ्ना सम्पूर्ण सदस्यहरुलाई सान्त्वना दिँदै काम गराएर पनि रेखाजीमा कसैप्रति सहानुभूतिको संकेत थिएन र म ठोकुवा गर्छु आज पनि त्यो छायाङ्कन त्यसरी नै कुदिरहेको छ । परिस्थितिहरुलाई नजिकबाट नियालेर पनि रेखाजीले सँधै निर्देशकको सुस्ततालाई औल्याउनु भयो ।

यसरी नै सकाउँछु भन्ने ढिपी छोड्नु भएन । नखाउ दिनभिरको शिकार, खाउँ कान्छो बाउको अनुहारको स्थिति भएपछि मैले उहाँलाई सचेत गराउनु मेरो कर्तव्य थियो । यति मात्र नभई काठमाडौं मै छँदा मेरो वहाँसँग सुटिङ स्पटमा मैले काम गरिरहँदा उहाँले हस्तक्षेप नगर्ने मुख्य सहमतिको उल्लघंन छायाङ्कनको पहिलो दिनमा नै गरिदिनुभयो । यसरी समस्याको निराकरण गर्नुको साटो पटकपटक मलाई पदमुक्त गर्ने धम्की दिनुभयो ।

हुन त निर्देशकले चाँहदा उहाँको छायाङ्कन रोकिएर सम्पूर्ण टोली फर्काउन पनि सकिन्थ्यो तर दैनिक रोजगारी गरेर छाक टार्नु पर्ने ति मजदूर साथीहरु जसले १० प्रतिशत मात्र पेश्की लिएका थिए, उनीहरुको श्रमको मूल्य पनि रोकिन्थ्यो, त्यसैले मैले त्यो गर्न सकिन र म त्यहाँबाट निस्किएर राजमार्गको होटलमा आएर बसे । त्यसको लगत्तै छविराज ओझाले मलाई फोन गरेर आफ्नै मातहतमा सम्पूर्ण काम सकाएर मात्रै हिड्नु भनेपछि रेखाजीबाट केही खबर आउला भन्ने लाग्यो तर उहाँमा कमजोरी स्वीकार्ने र सुधार्ने सम्भावना न्यून थियो ।

अब रोकिनु भन्दा यात्रा तय गर्नु नै उचित ठानेर म त्यहाँबाट निस्किएँ, काठमाडौं पुगेपछि थाहा भयो म बिरामी भएर थप उपचारका लागि पठाइएको रहेछु, म निस्कना साथ रेखाजी निर्देशक नै भैसक्नु भएछ । हुन त आफ्नो अनुकूल हुँदा प्रयोग गर्ने पछि फ्ँयाकिदिने वहाँको पुरानो स्वभाव म लगायत समस्त चलचित्रकर्मीहरुले बुझेकै हो । आज त्यही प्रयोगको पात्रभित्र मेरो सँख्या पनि थपियो ।

यस अघि म द्धारा निर्देशित लंका, च्यालेन्ज जस्तो चलचित्रमा सहकार्य गरेर सँगै हात पारेका उपलब्धिहरुलाई बिर्सेर आज रेखाजीबाट जुन व्यवहार भयो त्यसको मूल्याङ्कन समस्त सञ्चारकर्मी साथीहरु, सहकर्मी साथीहरु, अग्रजहरु र प्यारा दर्शकहरुबाट हुने नै छ । चेलीको खुशीको लागि आफ्नो भण्डार पनि खाली गर्न पछि नपर्ने हाम्रो परम्परा छ । हिम्मतवाली भन्ने घरको स्वरुप त तयार गरिदिएको छु अब त्यसलाई रेखाजीले राम्ररी रंग्याउन सक्नुहोस् र सफलता चुम्नुहोस्, मेरो हार्दिक शुभ–कामना ।