Wed. Oct 23rd, 2024

काठमाडौं । गीतकार प्रकाश दुमी राईले पहिलो गीति एल्बम ‘प्रकाश’ ल्याएका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा कवि÷गीतकार श्रवण मुकारुङ र गायक÷संगीतकार मिलन सिंहले संयुक्त रुपमा एल्बमको विमोचन गरेका थिए ।
पूर्वेली जूनतारा म्युजिकले बजारमा ल्याएको प्रकाशको एल्बममा ‘छाडी जाने भए’, ‘गर्न सक्दैन कविले’, ‘ओ प्रिय’, ‘मेरो मन’, ‘पानी है खानु’, ‘मेरो पहिलो–पहिलो माया’ बोलको गरी ६ वटा गीत सुन्न सकिन्छ । यी गीतहरुमा क्रमशः मेलिना राई, विनोद खम्बु, भीषण मुकारुङ, मिलन अमात्य, राजेशपायल राई, विनोद तथा मेलिनाले स्वर दिएका छन् भने विनोदको एकल संगीत छ ।
एक दशकदेखि गीति लेखन तथा साहित्यिक पत्रकारितामा सक्रिय प्रकाशले पुस्ताकाकार कृतिका रुपमा गीति संग्रह ल्याउने तयारी गरेकोमा साथीहरुको सल्लाहले गीत रेकर्डिङका क्रममा एल्बम नै तयार पारेको जानकारी दिए । ‘कलेक्सन एल्बमहरुमा गीत आए पनि बजारमै हराएकाले पनि आफूलाई टेस्ट गर्न एकल एल्बम ल्याउने सोचमा पुगेको हुँ,’ उनले भने ।
कवि मुकारुङले गीत–संगीत क्षेत्रमा पुनर्जागरणकाल भएको उल्लेख गर्दै प्रकाश एल्बमका गीतहरु नयाँ ढंगले लेखिएको पाएको धारणा व्यक्त गरे । ‘नितान्त नया ढंगले गीत लेख्यो भने आमपाठक तथा स्रोतामा कम्युनिकेट नहुन सक्छ । समय लाग्न सक्छ,’ उनले भने, ‘नवीनताको खोजीचाहिं यस एल्बमका गीतहरुमा पनि भेटिन्छ ।’