Tue. Apr 23rd, 2024

काठमाडौं । गायिका सोनिका लामाको भर्खरै जवानी चढ्दै छ । वास्तविक जीवनमा नभई गीतमा उनको जवानीमा लाली चढेको हो । करिब चार वर्षअघि ‘सोनिका’ नामक गीति एल्बम निकालेर नेपाली सांगीतिक क्षेत्रमा औपचारिक यात्रा सुरु गरेकी सोनिकाले तेस्रो एल्बमका रुपमा ‘सोनिकाको जवानी’ सार्वजनिक गर्दैछिन् । उनले केही दिनमै एल्बम सार्वजिनक गर्ने बताइन् ।
एल्बममा अधिकांश गीत जवानीमा आधारित रहेको सोनिकाले बताइन् । जसमा शीर्ष गीत एल्बम बजारमा नआई चर्चामा आएको छ । ‘एल्बमको प्रोमो आइतबारदेखि केही टेलिभिजन च्यानलमार्फत सार्वजनिक गर्दैछु’ सोनिकाले भनिन्, ‘तर एल्बम नै नआई जवानीमा लागि चढ्यो गीत चर्चामा आइसकेको छ ।’ उनको अनुसार ‘जवानीमा लाली चढ्यो’ बोलको गीत केही समययता देशभरीका एफएम रेडियोहरुमा बजिरहेको छ । उनले ‘जवानीमा लाली चढ्यो’ डान्सिङ गीत भएको समेत बताइन् । उनले भनिन्, ‘यो गीत वर्तमान नेपाली संगीतका श्रोता र दर्शकलाई मध्यनजर गरेको तयार बनाएको हुँ । सो अनुरुप मनपराईदिनु भएको छ ।’
सोनिकाले दुईवर्षअघि दोस्रो एल्बमका रुपमा ‘यो कस्तो जीवन’ नामक एल्बम श्रोतामाझ ल्याएकी थिइन् । सो एल्बममो शीर्ष गीतलगायत ‘मैले जिते’ बोलको गीत श्रोतामाझ लोकप्रिय बनेको थियो । गीत श्रोता÷दर्शकले रुचाए पनि गायिका सोनिका भने ओझेलमा परिन् । आफू ओझेलमा पर्नुको कारण खुलाउँदै उनले भनिन्, ‘समय अभावले प्रमोसन नै गर्न सकिन । गीतको प्रमोसन गर्न नसके पनि केही गीतले चर्चा पायो । तर आफै भने चिनिन सकिनँ ।’ चलचित्र अभिनय र मोडलिङसमेत गर्दै आएकी सोनिकाले तेस्रो एल्बमको भने भरपूर्ण प्रमोसन गर्ने सोच बनाएकी छन् । ‘अहिलेको जमाना प्रमोसनकै रहेछ’ उनले भनिन्, ‘प्रमोसन नगरी केही पनि नहुँदोरहेछ ।’
‘सोनिकाको जवानी’ श्रोताको रुचिअनुसारको गीत बनेको उनको दावी छ । ‘अहिले दर्शक श्रोता हरेक कुरामा ग्ल्यामर्स खोजिरहेका हुन्छन्’, एल्बमबारे प्रष्ट पार्दै उनले भनिन्, ‘त्यसैले गीतमा पनि ग्ल्यामर्स पस्किन प्रयास गरेकी हुँ ।’ सोनिकाको जवानीमा सोनिकाको स्वरमा कामुकता मिसिएको छ । एल्बमको शीर्षजस्तै उनले गीतमा जवानीका कुरा गरेकी छन् तर, उनले सोचेजस्तो आफ्नो जवानीले दर्शक÷श्रोतालाई लठ्ठयाउन कतिको सफल हुनेछिन् भन्नेचाहिँ एल्बम बजारमा आएपछि मात्र थाहा हुनेछ ।

%d bloggers like this: