Mon. May 20th, 2024

काठमाडौं / पोस्टर र गीतपछि अब ‘महाजात्रा’ निर्माण टिमले टिजर सार्वजनिक गरेको छ । चलचित्रको सार्वजनिक १ मिनेट १० सेकेण्ड लामो टिजर पैसाको वरिपरि घुमेको छ । चलचित्रको सार्वजनिक टिजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ ।

सार्वजनिक टिजरले जात्रा र ‘जात्रै जात्रा’को क्षणलाई सम्झाउने प्रयास गर्दै दर्शकलाई तेस्रो श्रृंखलाको कथावस्तुबारे अवगत गराउँछ । अभिनेता राजाराम पौडेलको पात्रले एक गाडी पैसा लुकाउन र त्यसबापत तीन मुख्य पात्रलाई ३०-३० लाख रुपैयाँ दिने वचन दिन्छन् । उनको आग्रह अनुसार नै पैसा लुकाउँदा उत्पन्न परिस्थितिसँग गर्ने संघर्ष टिजरमा देख्न सकिन्छ ।

चलचित्रको सार्वजनिक टिजरमा घटनाक्रमअनुसार नयाँ-नयाँ पात्र कथावस्तुसँग जोडिन्छन् । चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ । सिनेमामा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् । वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको चलचित्रमा अभिनय छ ।

सफल चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । निर्देशक भट्टराईले यो सिक्वलको कथा यसअघिका सिक्वलकै थिममा रहेको बताए । चलचित्र हासो र रोदनको मिश्रणलाई मौलिक्तासहित प्रस्तुत गरिएकाले यो शृङ्खला दर्शकको प्रिय बनेको र ‘महाजात्रा’ले त्यही बाटो पछ्याउने उनको दाबी छ । चलचित्रले वक्सअफिसमा उत्साहजनक व्यापार गर्ने आशा राखिएको छ ।

चलचित्रमा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ,रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको चलचित्रको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको चलचित्रमा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

Leave a Reply

%d bloggers like this: