Mon. May 13th, 2024

 काठमाडौं / आईसीसी टी-२० विश्वकप एसिया अर्न्तगत मंगलबार भएको नेपाल र मलेसियाबीचको खेलमा ‘दिमाग खराब म्यान अफ द म्याच’को पुरस्कार ३४ बलमा ६५ बनाएका अलराउण्डर कुशल मल्लले जितेका छन् । अभिनेत्री सुपुष्पा भट्टले मल्ललाई ५० हजार नगदसहित यो पुरस्कार हस्तानतरण गरेकी हुन् ।

त्यस्तै, १० हजार राशीको ‘बेस्ट सर्ट्स अफ द डे’को पुरस्कार पनि अलराउण्डर मल्लले जितेका छन् । उक्त पुरस्कार उनलाई सिनेमाका निर्माता रौनक विक्रम कडेलले हस्तान्तरण गरे । टी-२० विश्वकप क्रिक्रेटको एसिया छनोटमा नेपाली खेलाडीलाई हौसला बढाउनका लागि सिनेमाको टिमले पुरस्कार राशीको घोषणा गरेको थियो । यो पुरस्कार नेपाली खेलाडीले मात्र पाउनेछन् ।

सिनेमाको टिमले मुनाफाको ५ प्रतिशत क्यानको विकासका लागि समेत प्रदान गर्ने घोषणा गरेको छ । यसविषयमा गत आइतबार निर्माता कडेल र क्यानबीच सहमति भएको थियो । नेपाली खेलाडीहरुको हौसला बढाउन र क्रिकेटको विकासका लागि यो कदम उठाएको निर्माता कडेल बताउँछन् । नेपाली सिनेमाले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको खेलमा क्यानसँग सहकार्य गरेको हो ।

सिनेमाको टिमले क्यानसँग मिलेर ‘कात्तिक २४ गते दिमाग खराब हेरौं, नेपाली क्रिकेट टिमलाई सहयोग गरौं’ भन्ने स्लोगन पनि बनाएको छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । निर्देशक बस्नेतले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेकाले पनि दर्शक सिनेमाको व्यग्र प्रतिक्षामा छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

Leave a Reply

%d bloggers like this: