Sun. May 19th, 2024

काठमाडाैँ । विनाशकारी भूकम्पले गर्दा हराएकी छोरी नभेटिएपछि आमाबुवाको मनमा परेको छटपटी र असह्य पीडाको कथा हो, चलचित्र ‘नीरफूल’ । चलचित्रभित्र दुई वटा कथा पस्कन खोजिएको छ । एउटा छोरी खोज्न भौँतारिएका आमाबुवाको कथा अर्को गाउँमा आयआर्जन राम्रो गर्न नसकेपछि आफूले चाहँदा नचाहँदै पनि रोजगारीका लागि बिदेसिनुको पीडाको कथा ।

स्यरल्हामो (शान्ति वाइबा) र चेन्जारोङ (दयाहाङ राई) छोरीसँग सुख दुःख मिलेर जीवन बिताइरहेका हुन्छन् । स्यरल्हामोले चेन्जारोङलाई विदेश जान कर गरिरहन्छिन् । आखिरकार श्रीमतीको बोली हार्न नसकेर चेन्जारोङ मलेसिया पुग्छन् । चेन्जारोङ मलेसिया उडेपछि स्यरल्हामोमाथि ठूलो बज्रपात हुन्छ । सबै गाउँले आआफ्नो काममा लागिरहेका बेला अचानक रुबीभ्यालीमा आएको विनाशकारी भूकम्पले सबै कुरा तहसनहस बनाइदिन्छ । भूकम्पको समयमा रुबीभ्यालीका दम्पतीको छोरी हराउँछिन् । छोरी घरभित्र नै पुरिन्छिन् र उनलाई उपचारका लागि काठमाडौँ पुर्याइन्छ । यता आमाको अवस्था पनि उस्तै हुन्छ । घरीघरी छोरीको नाम मात्र लिइरहन्छिन् । यहीँबाट सुरु हुन्छ चलचित्रको मुख्य कथा । छोरी खोज्न काठमाडौँमा भौँतारिँदा एउटी आमाले के कस्तो दुःख बेहोर्नुपर्छ भन्ने कुरा चलचित्रमा देखाइएको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकारी निकाय मिलेर पैसा कमाउने लोभमा कसरी एउटी बालिकालाई बिदेसीको हातमा सुम्पन खोज्छन् भन्ने विषय चलचित्रमा पेचिलो तरिकाले पस्कन खोजिएको छ । वैदेशिक रोजगारीमा गएका बुवा फर्किएपछि आफ्नो छोरी खोज्न उनले गरेको दुःख र कष्ट पनि चलचित्रमा देखिन्छ । मान्छेले प्राकृतिक विपत्तिको समयमा पनि कसरी नाजायज फाइदा लिन खोज्छन् भन्ने कुरालाई सुन्दर किसिमले चलचित्रमा प्रस्तुत गरिएको छ ।

तामाङ भाषाको संवादबाट सुरु हुने चलचित्रले सबटाइटल दिए पनि केही समय दर्शकलाई अल्छी लाग्न सक्छ तर बिस्तारै चलचित्रको कथा अगाडि बढ्दा रुचिकार लाग्छ । दर्शकलाई गणेश हिमालमुनिको रुबीभ्यालीमा खिचिएको मनमोहक दृश्यले नै आकर्षित गर्छ ।

तामाङ भाषाको संवादलाई चलचित्रभित्र प्रयोगमा ल्याएर साहित्यकार तथा पत्रकार फूलमान बलले केही नयाँ कुरा गर्न खोज्नुभएको छ । प्रायः नेपाली भाषाका चलचित्र मात्र हेरिरहेका दर्शकले ‘नीरफूल’ मा अवश्य नै नयाँ भाषाको स्वाद चाख्न पाउनेछन् । यसले चलचित्रभित्र अझ धेरै विविधता थप्ने काम गरेको छ । निर्देशक बलको निर्देशनमा बनेको चलचित्रले राम्रो विषयको कथा उठान गरेको छ । आफ्नो पहिलो चलचित्रबाट नै निर्देशक बल दर्शकको मन जित्न सफल भए । धेरैले उहाँको निर्देशकीय पक्षको तारिफ गरेका छन् । चलचित्रको कथा सङ्गीत, छायाङ्कनदेखि लिएर विशेष भूमिकामा देखिएकी अभिनेतृ रेखा थापाको नृत्यले पनि दर्शकलाई हलसम्म तान्ने काम गर्छ । समग्रमा चलचित्र उत्कृष्ट कोटीको बनेको छ ।

चलचित्रमा देखाइएको गणेश हिमालमुनिको रुबीभ्यालीमा खिचिएको मनमोहक दृश्यले ‘नीरफूल’ लाई अझ गहकिलो बनाएको छ । चलचित्रमार्फत निर्देशक बलले आफ्नै परिवार र समाजको कथा भन्न खोजेका छन् । भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्न नै चलचित्रको मुख्य विषय हो । कलाकार दयाहाङ राई र शान्ति वाइबाको अभिनय तारिफयोग्य छ । अन्य कलाकारहरू बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीको अभिनय पनि उत्तिकै तारिफयोग्य रहेको छ । – गोरखापत्र

Leave a Reply

%d bloggers like this: