Tue. Apr 30th, 2024

काठमाडाैँ । अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अभिनेता भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो। विगत ४० वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा लाग्नुभएका केसीले ‘जुनी’ चलचित्रबाट चलचित्र यात्रा सुरु गर्नुभएको हो। २३ वर्षको उमेरदेखि चलचित्र क्षेत्रसँग जोडिनुभएका उहाँले त्यसपछि सम्झना, कुसुमे, सन्तान, तिलहरी, कन्यादान, चिनो, रुमाल जस्ता चर्चित चलचित्रमा अभिनय गर्नुभएको छ।

“म जागिर खानको लागि आएको होइन, चलचित्र क्षेत्रलाई जीवन्तता दिने कोसिसमा आएको हुँ,” उहाँ भन्नुहुन्छ, “चलचित्र क्षेत्रको एकदमै अपार सम्भावना छ, हामीसँग धेरै प्रतिभा र सिर्जना छन्। यसको संरक्षण र प्रवद्र्धन गर्ने काम संस्थागत रुपमा चलचित्र विकास बोर्डले गर्छ।”

यस्तै, नेपालको चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने अभिनेता केसीको लक्ष्य छ। त्यसै अनुरुप कार्ययोजना बनाएर काम गर्ने उहाँको भनाइ छ। केसीले आफूप्रति सद्भाव देखाउने माया गर्ने सम्पूर्ण मान्यजन र शुभचिन्तकप्रति आभार व्यक्त गर्नुभएको छ।

काठमाडौंको सिनामङ्गलमा जन्मिनुभएका उहाँलाई कलाकार बन्नेबाहेक अरु रहर नै थिएन। १० वर्षको उमेरमै बाल कलाकारको रुपमा केसी रेडियो नेपालमा गीत गाउनुहुन्थ्यो। यहाँबाट केसीको कला यात्रा सुरु भएको हो। उहाँले रेडियो नेपालमा गाउनुभएको पहिलो गीत हो, ‘मादल बज्यो घिन्ताङ तालैमा’।

उहाँले जीवनका तीतामिठा सबै पल चलचित्र क्षेत्रमै बिताउनुभएको छ। उहाँ भन्नुहुन्छ, “मैले एक सय वटाभन्दा बढी चलचित्रमा अभिनय गरेको छु। मैले अभिनय गरेका अधिकांश चलचित्र सुपर हिट भएका छन्, जुन हामी नेपालीको लागि गर्वको विषय हो।”

नेपालको सिनेमा हलको पहुँच र अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृति चलचित्र र मौलिकता फैलाउने पहिलो उद्देश्य रहेको अभिनेता केसीले बताउनुभयो।

“नेपालमा कलाकारले सिक्नका लागि फिल्म स्टुडियो बनाउन जरुरी छ। जसको सहयोगले विदेशी चलचित्र पनि नेपालमा सजिलै छायाङ्कन गर्न सकिन्छ”, उहाँ भन्नुहुन्छ, “स्टुडियोको सहयोगले उपकरण, ल्याबको पोस्ट प्रोडक्सनका काम गर्न सजिलो हुन्छ। अहिले पनि नभएको होइन। तर, अन्तर्राष्ट्रिय स्तरको हुनपर्छ।”

नेपालको पहिलो म्युजिक भिडियो खेल्ने अभिनेताको रुपमा पनि केसी परिचित हुनुहुन्छ। जसको गायक र अभिनेता उहाँ नै हुनुहुन्छ। ‘मायालु तिमी टाढा भइदिनाले’ बोलको गीत उहाँको पहिलो म्युजिक भिडियो हो। नेपाली सिनेमालाई विदेशमा पनि फैलाउने केसीकै पहिलो प्रयास थियो। उहाँ आफैंले निर्माण गर्नुभएको चलचित्र ‘करोडपति’ अमेरिका, जापान, स्वीट्जरल्याण्ड, जर्मनी, फ्रान्समा प्रदर्शन गरिएको थियो।

यस्तै, केसी ‘बेस्ट एक्टर’, ‘बेस्ट फिल्म मेकर’ जस्ता कयौं पुरस्कारबाट सम्मानित हुनुभएको छ। बाल कलाकार, अभिनेतादेखि निर्मातासम्मको यात्रामा धरै कुरा सिक्ने मौका मिलेको केसी बताउनुहुन्छ। केसीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘ड्रिम्स’ हो।

जीवनको अन्तिम समयसम्म चलचित्र क्षेत्रमै लाग्ने केसी बताउनुहुन्छ। यसबाहेक, नेपालको कला, संस्कृति, भेषभुसा र पर्यटनलाई बढाउने उद्देश्यसहित विकास बोर्डको यात्रा सुरुभएको उहाँको भनाइ छ। विकास बोर्डमा आवेदन दिनुभएका सम्पूर्णको मनोभावनालाई समेटेर, सम्पूर्ण नेपाली जनता, चलचित्रकर्मी, कलाकर्मी भावनालाई सम्झेर अगाडि बढ्ने उहाँले बताउनुभयो।

विकास बोर्डले केहीदिन अघि अध्यक्ष पदका लागि १० जनाको सूची सार्वजनिक गरेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो। १० जनामध्येबाट सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गरेको हो। गोरखापत्र

Leave a Reply

%d bloggers like this: