Fri. Apr 26th, 2024

काठमाडाैँ । भोलीबाट देश तथा विदेशमा कबड्डी–४ रिलिज हुँदैछ । यस अघिका तीन वटा सिक्वेलले ठूलो सफलता पाएका छन् भने चौथो सिक्वेलले पनि राम्रो व्यापार गर्ने संकेत देखिएको छ ।

बुकिङ ओपन भएको दिनमा नै देशभरका अधिकांश हलका सिटहरू बुक भइसकेका छन् ।

गत हप्ता कबड्डीको टोलीले देशमा ठूला शहरहरूमा कन्सर्ट गरेको थियो । दमक, बुटवल र पोखरा लगायत ठाउँहरूमा भएको कन्सर्टमा समर्थकहरूको बाक्लै उपस्थिति रहेको थियो ।

फिल्म सफल बनाउनका लागि निर्माण पक्षले प्रचारप्रसारमा ठूलो लगानी र फरक उपाय लगाउने गर्छन् । त्यस्तै गरेको छ कबड्डी–४ को टोलीले पनि ।

स्थानीय तहको निर्वाचनको समयमा भाइरल भएका एक युवक अहिले कबड्डी–४ को प्रमोसनमा देखिएका छन् । उनले फिल्मका लिड कलाकारहरू दयाहाङ राई लगायतसँग बनाएका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

भिडियोमा अभिनेता राईले उक्त युवकलाई अंगालो हालेका छन् र उक्त युवक भन्छन्, “सागर, किस्ने, बसन्ते केटाहरू कहाँ छन् के त ? शुक्रबारदेखि हाम्रो दाइको कबड्डी–४ भन्ने फिल्म रिलिज भै’राछ । तँ’हरू काँ गैदिराछस् के ? केटाहरू सबजना आइज है हलमा बसेर चट्ट हेर्नेपर्छ के फिल्म हैन दाइ ।”

स्थानीय तहको निर्वाचनको समयमा म्यादी प्रहरीको पोशाक लगाएर टिकटक बनाएपछि नवराज रेग्मी भाइरल भएका थिए । उनलाई प्रहरीले पक्राउ गरेर छोडेको थियो ।

कबड्डीको अन्तिम सिक्वेलमा दयाहाङ राई, बुद्दि तामाङ, अभिनेत्री मिरुना मगर, अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको छ । यो फिल्मको निर्देशन रामबाबु गुरुङले गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: