Fri. Apr 26th, 2024

काठमाडौैँ । रंगहरूको पर्व फागु पूर्णिमा (होली) आज (शुक्रबार) तराई तथा मधेसका जिल्लाहरूमा हर्सोलासपूर्वक मनाइँदै छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा हिजो (बिहीबार) नै फागु पूर्णिमा मनाइएको छ । तर, मधेस तथा तराईका जिल्लाहरूमा भने आज होली मनाइँदै छ ।

होली पर्वको अवसरमा सरकारले आज मधेस तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ । कोरोना संक्रमणको जोखिम कम भएका कारण यस वर्षको होली विषेश उल्लासमय छ । यसअघिका दुई वर्ष कोरोना संक्रमणाको कारण होली पर्व खल्लो भएको थियो ।

गृहमन्त्रालयले होलीमा कसैको इच्छा विपरित जबर्जस्ती रंग नदल्न, लोला नहान्न आग्रह गरेको छ । होलीका नाममा उच्छृंखल गतिविधि गरे कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्वमा विभिन्न रङ र लोला खेली मनाउने प्रचलन रहेको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा होलीलाई शान्त र मर्यादित बनाउँन मासु तथा मदिराको विक्री वितरणमा स्थानीय प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार विज्ञप्ति जारी गर्दै चैत ३ र चैत ४ गते सूर्योदयदेखि सूर्यास्तसम्मका लागि जनकपुरधाम क्षेत्रमा मासु तथा मदिरा बिक्रीवितरण तथा सेवन निषेध गरिएको जानकारी दिएको हो ।

प्राचीन ग्रन्थमा होलीको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रशरङ्गले तरङ्गीत तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्व पनि हो । जैमिनी, शबर, वात्स्यायन आदिद्वारा रचित ग्रन्थका साथै भविष्यपुराण, लिङ्गपुराण, वराहपुराण, हिमादी आदिमा पनि यसको वर्णन गरेको पाइन्छ ।

वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।

Leave a Reply

%d bloggers like this: