Sat. Apr 20th, 2024

काठमाडाैँ । नेपाली फिल्म ‘सहायक श्रीमान’ले युरोपमा अवार्ड जित्न सफल भएको छ । आइतबार स्लोभाकियामा भएको २९औं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फ़ेस्टिभलमा ‘सहायक श्रीमान’ले अनोरेबल मेन्सन अवार्ड जितेको हो ।

चलचित्रका निर्देशक गणेश पाण्डेले अन्तर्राष्ट्रिय जुरी र दर्शकको माझ पुरस्कार थाप्न पाउँदा आगामी दिनमा अझै उत्कृष्ट सिर्जनाका लागि अर्को भारी थपिएको महसुस गरेको बताएका छन् ।

काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन चलचित्र महोत्सवमा प्रिमियर गरिएको यो फिल्मले अन्य विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरू जितिसकेको छ । यो फिल्म अक्टोबर १५ तारिख एकैदिन स्लोभाकियाका साथै जर्मनीको टेगेन्सी अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सवमा प्रदर्शन भएको थियो ।

विश्वका विभिन्न देशमा छनोट भइरहेको यो चलचित्र गत वर्ष रसियामा आयोजित १९ औँ अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ जितेको थियो भने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट फिल्म अवार्डसहित एक हजार अमेरिकी डलर जित्न सफल भएको थियो । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘सहायक श्रीमान’ बहुपति प्रथामा आधारित छ । ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो ।

घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ ।

Leave a Reply

%d bloggers like this: