Fri. Mar 29th, 2024

एजेन्सी । भारतका चर्चित पुराना कलाकार दिलिपकुमारको बुधबार निधन भएको छ ।वियोगान्त पात्रको रुपमा अभिनय गर्ने अभिनेताका रुपमा परिचित दिलिपकुमारको ९८ बर्षको उमेरमा निधन भएको हो । मुम्बइमा रहेको पिएल हिन्दुजा अस्पतालमा उपचार भइरहेका बेला उनको निधन भएको उपचारमा संलग्न डा जालील परकारले पुष्टि गरे ।
कलाकार दिलिपकुमारका प्रवक्ता फैसल फारुकीले पनि उहाँको निधन भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिए । श्वासप्रस्वासमा समस्या भएपछि उनलाई केही दिन अगाडि अस्पताल भर्ना गरिएको थियो ।
करिब ६ दशक भन्दा बढी समय चलचित्र जीवनमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए । उनको लोकप्रियता भने सन् १९४९ मा प्रदर्शनमा आएको चलचित्र अन्दाजबाट बढेको हो । उनले देवदास, नया दौर, मुग्ली ए आजम, गङ्गा जमुना, क्रान्ति र कर्मा जस्ता चर्चित हिन्दी चलचित्रमा अभिनय गरेका थिए ।
उनकी पत्नी साएरा बानु पनि बलिउड अभिनेत्री हुन् । उनिहरुका सन्तान भने छैनन । सन् १९२२ को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा जन्मिएका दिलिपकुमारको सुरुको नाम भने युसुफ खान हो ।
भारतीय र हिन्दी चलचित्र क्षेत्रमा प्रवेश गर्ने क्रममा उनले आफ्नो नाम पनि परिवर्तन गरेर दिलिपकुमार राख्नु भएको हो । यस्तो अभ्यास अन्य कलाकारहरुले पनि गरेकाले उनले पनि त्यही गरेको बताइन्छ ।
उनको निधनप्रति कलाकार तथा राजनीतिज्ञलगायत धेरैले दुःख व्यक्त गरेका छन् । धेरैले उनलाई भारतीय चलचित्रले स्थापित गरेका सर्वश्रेष्ठ अभिनेताको संज्ञा पनि दिएका छन् ।

Leave a Reply

%d bloggers like this: