एजेन्सी । इङ्ल्याण्डको डिपार्टमेन्ट अफ एजुकेशनले शुक्रबार एउटा नयाँ संगीत पाठ्यक्रम सार्वजनिक गरेको छ । जसमा भारतीय संगीत जगतका केही विशेष गीतहरुलाई सन्दर्भ सामग्रीका रुपमा लिइएको छ । यसमा मलाइका अरोडा अभिनित चर्चित गीत ‘मुन्नी बदनाम हुई’ लाई पनि समावेश गरिएको छ ।
उक्त पाठ्यक्रमलाई बेलायतका १५ संगीत शिक्षा विज्ञ, शिक्षक र संगीतकारले तयार गरेका हुन् । यसलाई विद्यालयमा उच्चस्तरीय संगीत शिक्षा दिनका लागि डिजाइन गरिएको भारतको दैनिक भाष्करले उल्लेख गरेको छ ।
सलमान खानको चलचित्र ‘दबङ’को ‘मुन्नी बदनाम हुई’ का साथै एआर रहमानले कम्पोज गरेको ‘जय हो’, अनुष्का शंकरको ‘इन्डियन समर’ र किशोरी अमोनकरको ‘सहेली रे’ पनि पाठ्यक्रममा सामेल गरिएको छ ।
