Thu. Mar 28th, 2024

काठमाडाैँ । पछिल्लो समय हलपछि फिल्म रिलिज गर्ने प्लेटफर्म बनेको छ युट्युब । हलमा दर्शकको साथ पाउन नसकेका फिल्म युट्युबमा भने हिट भएका धेरै उदाहरण छन् । त्यस्तै, गत हप्ता युट्युबमा अपलोड भएको फिल्म ‘ए मेरो हजुर ३’ भने हल र युट्युबमा समेत हिट भएको छ ।
डेढ वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले घरेलु बजारमा ९ करोड ग्रस कलेक्सन गरेको थियो । दुई हप्तासम्म त फिल्म हरेक सिनेमा हलमा हाउसफुलका साथ प्रदर्शन भएको थियो । समीक्षकले कमजोर भनेको यो फिल्मलाई दर्शकहरुले निकै मन पराएका थिए । यही कारण फिल्म सुपरहिट बन्यो ।
सिनेमा हलमा रिलिजको डेढ वर्षपछि ‘ए मेरो हजुर ३’ गएको एक हप्ता अगाडि यूट्युबमा सार्वजनिक भएको छ । यूट्युब रिलिजको १२ घण्टामा दश लाख पटक हेरिएको यो फिल्म एक हप्तामा सात मिलियन भन्दा बढी (७० लाख) पटक हेरिएको छ । सम्भवतः यसअघि एक हप्तामा कुनै नेपाली फिल्म यति धेरै पटक हेरिएको छैन । यसमानेमा फिल्मले यूट्युबमा रेकर्ड नै राखेको छ ।
अहिले यो फिल्म ७० लाख भ्यूजका साथ नेपालको यूट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । एक हप्तादेखि ट्रेन्डिङको पहिलो स्थानबाट फिल्म डगमगाएको छैन । हल र यूट्युब दुवैमा हिट सावित भएको फिल्मले एक सेलिब्रेटी र फ्यानबीचको प्रेमकथा वाचन गरेको छ । फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । अहिले यो फिल्मको चौंथो पार्टको धमाधम छायांकन भइरहेको छ ।

Leave a Reply

%d bloggers like this: