Fri. May 3rd, 2024

सुपरस्टार अनमोल केसी अभिनीत छैटौं फिल्म ‘क्याप्टेन’ यही फागुन १७ गतेबाट प्रदर्शनमा आउँदैछ । धमाकेदार ट्रेलर, ‘रहर छ सँगै’ र ‘कर्ली कर्ली कपाल’ बोलको गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गरेका कारण यो फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुने फिल्मपण्डितहरुको अनुमान छ । यसमा अनमोल फुटबल खेलाडीको भूमिकामा प्रस्तुत छन् ।
प्रदर्शन मिति दिन प्रतिदिन नजिकिँदै गर्दा अनमोल अहिले फिल्मको प्रचार-प्रसार चुस्त एवं दुरुस्त बनाउन व्यस्त छन् । केही दिनदेखि राजधानी केन्द्रित प्रचारमा व्यस्त उनी बिहीवार दिउँसो भने दोस्रो पटक फिल्मको प्रचार गर्न चितवन पुगेका छन् । यसअघि उनी फिल्म ‘जेरी’ को प्रचारका लागि पुगेका थिए । चितवनलाई नेपाली फिल्मको ठूलो बजारको रुपमा लिइन्छ ।
पिता तथा फिल्मका निर्माता भुवन केसीको साथमा त्यहाँ पुगेका अनमोलले स्पोर्टस् जनराका फिल्ममा इमोसन अत्यन्त आवश्यक रहने बताए । इमोसनको कमीले यसअघि निर्मित स्पोर्टस् जनराका फिल्म दर्शकको मनमा बस्न सफल नभएको बताउँदै उनले भने- ‘‘क्याप्टेन’ मा इमोसनलाई यसरी ‘क्यारी’ गरेर लगिएको छ कि विश्वकपको फाइनल गेम हेरेको भन्दा बढी मज्जा आउँछ ।’’
अनमोलले फिल्म हेरिरहँदा फुटबल खेलाडीलाई आफ्नै कथा भनेको महशुस हुने दाबी पनि गरे । ‘नेपालमा जति पनि फुटबल प्लेअर्स हुनुहुन्छ उहाँहरुले फिल्म हेरिरहँदा कुनै न कुनै ठाउँमा आफू लाइफसँग रिलेट गर्नुहुन्छ’, उनले थपे, ‘फिल्ममा देशमा घटिरहेको घटना उठाइएको छ । फुटबल खेलाडीको संघर्षको कथा छ ।’ सम्पन्न परिवारबाट अझै पनि खेल क्षेत्रमा युवापुस्ताको उपस्थिति नभएको पनि उनले बताए ।
रोयल फेमिलीले आफ्नो सन्तानलाई खेलकुदमा भन्दा पनि विजनेशमा जान प्रोत्साहन गर्ने उनको भनाइ छ । अनमोल अगाडि भन्छन्, ‘खेलकुद भनेको आफ्नो प्यासनबाट खेल्ने कुरा हो । मैले एन्फामा हरि खड्काबाट जति महिना फुटबल तालिम लिएँ र जति फुटबलरहरुसँग भेटेँ उहाँहरु अधिकांश मध्यमवर्गीय परिवारबाट आउनु भएको थियो । यसकारण पनि ‘क्याप्टेन’ मा हरेक फुटबलरको कथा छ ।’
पत्रकारसँग गफिँदै निर्माता भुवन केसीले ‘क्याप्टेन’ हरेक नेपालीले गर्व गर्न लायकको फिल्म बनेको बताए । उनले फिल्म बनाउन गर्नु परेको दुःख सम्झिँदै भने, ‘उत्कृष्ट फिल्म बनाएको दाबी त गर्दिनौं तर इमान्दार प्रयास भने गरेका छौं । तर, स्पोर्टस् जनरामा फिल्म बनाउन साह्रै गाह्रो हुँदो रहेछ । नेपालमा एउटा राम्रो फुटबल मैदान समेत छैन, जसले गर्दा हामीले नपाउनुको दुःख पनि पाएका थियौं ।’
यसमा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको पनि अभिनय छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको फिल्ममा सुदिप बरालको छायांकन छ । फिल्मको कथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् । जिया केसी सह-निर्माता रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ ।

Filmykhabar.com

Leave a Reply

%d bloggers like this: