Sun. May 5th, 2024

काठमाडौं, पुस २६
साबिक विजेतासमेत रहेको पिएसजी फ्रेन्च लिग कप फुटबलको अन्तिम आठबाटै बाहिरिएको छ । गत राति भएको खेलमा अप्रत्यासित हारको सिकार हुँदै पिएसजी प्रतियोगिताबाटै आउट भएको हो ।
हाल लिग वानमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको पिएसजी फ्रेन्च लिग कपमा लिगको पुछारमा रहेको ग्वेनगाम्पसँग २–१ ले पराजित भएको हो ।
गत राति घरेलु मैदानमा भएको खेलमा ग्वेनगाम्पले पिएसजीलाई स्तब्ध बनायो । यतिबेला घरेलु लिगमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको गुइनग्याम्पले पिएसजीलाई पेनाल्टी गोलको मदतमा स्तब्ध बनायो ।
ग्वेनगाम्पले दुवै गोल पेनाल्टीबाट गरेको थियो भने पिएसजीका लागि नेइमारले गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा साकिएको थियो ।
तर, खेलको ६३औं मिनेटमा पिएसजीका लागि नेइमारले गोल गरेर अग्रता दिलाए । यद्यपि, पिएसजीले अग्रता जोगाउन सकेन ।
सो खेलमा ग्वेनगाम्पले ३ पेनाल्टी पायो । जसमा उसले २ पेनाल्टीमा गोल हान्यो भने एक पेनाल्टी गुमायो । ६१औं मिनेटमा मार्कुस थुरामले पेनाल्टीमा गोल गर्न नसक्दा ग्वेनगाम्प सुरुवाती अग्रता लिनबाट चुकेको थियो ।
ग्वेनगाम्पलाई अन्तिम १० मिनेटमा भाग्यले साथ दिएपछि उसले २ पेनाल्टी पायो । खेलको ८१औं मिनेटमा यानी एनुबकोतोले पहिलो पेनाल्टी गोल गरेर खेल बराबरी बनाउँदा थपिएको समयमा मार्कुस थुरामले दोस्रो पेनाल्टी गोल गरेपछि खेल ग्वेनगाम्पले १–२ ले जित्यो ।
अब यो पराजयसँगै पिएसजीको घरेलु कप प्रतियोगितामा ४९ खेलको विजयी यात्रा पनि टुंगिएको छ । यसअघि सन् २०१४ मा मोन्टपेलरसँग हारेयता पिएसजीले लिग कपमा सबै खेल जित्दै आाएको थियो ।

Leave a Reply

%d bloggers like this: