Fri. Sep 13th, 2024

काठमाडाैं ।
भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’ र ‘डीआइडी-३’ की च्याम्पियन तेरिया फौजा मगर केही दिनदेखि खबरमा छिन् । नेपाली फिल्ममा अभिनय गर्न लागेको खबर भाइरल भएपछि एकपटक फेरि उनको चर्चा चुलिएको छ ।
तेरियालाई डान्स गुरु सुजन विश्वकर्माले ‘मायाको मोल’ नामक फिल्मको प्रस्ताव गरेको र उनी बिना पारिश्रमिक फिल्म गर्न राजी भएको समाचार फिल्मीखबरले पनि प्रकाशित गरेको थियो । निर्माता म्याक टेन कालु स्वयमले तेरिया फिल्ममा कन्फर्म भएको फिल्मीखबरसँगको फोनर्वार्तामा बताएका थिए ।
तर, तेरियाबाट यस विषयमा औपचारिक जानकारी प्राप्त भएको थिएन । सोमवार उनले आफ्नो आधिकारिक फेसबुकमा आफूले कुनै फिल्म साइन नगरेको र तत्काल फिल्म गर्ने सोचमा रहनेको भन्दै स्टाटस लेखिन् । हाल बहराइनमा रहेकी उनले फिल्मीखबरसँग अनलाइन कुराकानी गर्दै आफूले कुनै नेपाली फिल्म साइन नगरेको स्पष्ट पारेकी छन् ।
‘गलत हल्ला फैलाइयो । मैले कुनै फिल्म साइन गरेकी छैनँ । २-४ फिल्मबाट अफर नआएका होइनन् तर अहिले म अध्ययनमा फोकस छु’, उनले भनिन् । सुजन विश्वकर्मालाई चिन्नुहुन्छ ? तपाईको डान्स गुरु रे नी ? उनले एक वाक्यमा जवाफ भनिन्, ‘चिन्दिनँ ।’
तेरियाले आफ्नो भेरिफाइड फेसबुक पेजमा भाम्रक समाचारप्रति आफ्नो ध्यानआकृष्ट भएको भनेर लेखेकी छिन् । तर, रोचक कुरा ‘मायाको मोल’ फिल्मको निर्देशन गर्न लागेका म्याक टेन कालु भने तेरियाको उक्त फेसबुक फेक रहेको भन्दै आफू चोखो बन्न खोजे । फिल्मीखबरसँग कुरा गर्दै उनले भने, ‘केही दिन पर्खनुस् । चाँडै हामी उहाँसँग एक भिडियो गर्दैछौ ।’
४ लाख १८ हजार बढी फलोअर्स रहेको तेरियाको उक्त भेरिफाइड फेसबुक पेज फेक होइन । यो फेसबुक पेजमा उनी दैनिकजसो नै पोष्ट शेयर गरिरहेकी हुन्छिन् । उनको नाममा सयौ फेक फेसबुक बनेका छन् । ‘तेरिया फौजा मगर’ नाममा एक फेसबुक आइडी खुलेको छ, जहाँ ‘मायाको मोल’ शिर्षकका केही समाचार र भिडियो शेयर भएका छन् ।
यो फेसबुकमा निर्माता कालुले समाचारको लिंक ट्याग गरेका छन् । तेरियाका डान्स गुरु भनिने सुजन विश्वकर्मा पनि यसमा फ्रेण्ड छन् । अब यो फेसबुक आइडी सक्कली हो वा नक्कली त्यसको भने चाँडै पर्दाफास हुनेछ । कतै निर्माण टिमले तेरियाको नाम भजाएर चर्चामा आउने बाटो त रोजेको होइन ?
फिल्मीखबरबाट 

Leave a Reply