Sun. May 19th, 2024

काठमाडौ । 
पटक–पटकको प्रयास र परिक्षणपछि अमेरिकी कम्पनी बोस्टन डाइनामिक्सले रोबोट कुकुर ल्याउने तयारी गरेको छ । कम्पनीले ‘स्पोट–मिनी रोबोट’ नाम दिएको उक्त कुकुरलाई अर्को वर्षदेखि व्यापारिक रुपमा बजारमा उतार्ने जनाएको छ ।

कम्पनीले मे ११ मा यसको घोषणा गरेको ‘टेकक्रन्च’ को रिपोर्टमा उल्लेख छ।
‘टेकक्रन्च’ अमेरिकी अनलाइन प्रकाशन हो, जसले प्रविधि उद्योगका नयाँ समाचार सम्प्रेषण गर्ने गर्छ। ‘स्पोट–मिनी प्री–प्रोडक्सनमा रहेको छ,’ टेकक्रन्च कार्यक्रममा कम्पनीका संस्थापक मार्क रेबर्टले भने, ‘सन् २०१९ मा व्यापारिक उपलब्धताका लागि हामी तयारीमा जुटिसकेका छौं।’
स्पोट–मिनी कुनै कार्यालयमा गएर के–के गर्न सक्छ, व्यापारिक प्रयोगका लागि बढी सुलभ स्थानमा यसको प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे कम्पनीले परिक्षण गरिरहेको छ। यसै क्रममा यसलाई नीजि घरमा पनि प्रयोगमा ल्याउन सकिने निस्कर्ष कम्पनीका इन्जिनियरहरुले निकालेका छन्।
यो ‘कुकुर’लाई विविध काममा उपयोग गर्नका लागि आफ्नो घरमा समेत राख्न सकिने कम्पनीको दाबी छ। स्पोट–मिनी रोबोट कुकुरले तपाईंको सुरक्षा मात्रै गर्दैन, तपाईंको ढोका समेत खोल्ने क्षमता राख्छ। तपाईंले पाल्ने गरेका कुकुर मध्ये विरलैले मात्र ढोका खोल्न सक्छन्। तर, स्पोट–मिनीले तपाईंलाई यो सेवा उपलब्ध गराउन सक्छ।
‘यो घरपालुवा अन्य चौपायाभन्दा कम छैन,’ कम्पनीले भनेको छ, ‘त्यसैले यसलाई राम्रो र आज्ञाकारी घरपालुवा जनावरको रुपमा लिन सकिन्छ।’
बोस्टन डाइनामिक्सले यो वर्षको अन्त्यसम्ममा व्यापारिक उपयोगका लागि सय वटा जति स्पोट–मिनिसको निर्माण गर्ने घोषणा पनि गरिसकेको छ। यसका लागि विक्री गर्ने कम्पनीसँग सम्झौता भइसकेको छ।
कम्पनीले स्पोट–मिनीको तत्कालै मूल्य भने निर्धारण गरेको छैन। यो केही महंगो नै हुनेमा कुनै शंका छैन, त्यसैले सबैको घरमा स्पोट–मिनी रोबोटको कल्पना गर्न सकिन्न।
बोस्टन डाइनामिक्सले वर्षाैंदेखि रोबोट र मेसिनहरुमाथि खोज गर्दै आएको छ। हालसम्म कम्पनीले धेरै प्रकारको रोबोट बनाइसकेको छ। अमेरिकी सेनाका लागि समेत उसले रोबोट बनाइसकेको छ। पछिल्लो रोबोटिक कुकुर उसको सबैभन्दा परिस्कृत र अनौठौ उत्पादन हो।
इकान्तिपुरबाट

Leave a Reply

%d bloggers like this: