Mon. May 6th, 2024

काठमाडाैं । 
इङ्लिस प्रिमियर लिग अन्तर्गत ब्राइटनलाई ४-० ले पराजित गर्दै लिभरपुलले आगामी सिजनका लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। लिभरपुलले लिगमा चौथो स्थानमा सिजन समाप्त गर्दै अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो। यो सिजन लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडको सामना गर्दैछ।
लिभरपुलका लागि मोहम्मद सलाह, डेजान लोभ्रेन, डोमिनिक सोलाङ्के र एण्ड्रेउ रोबर्ट्सनले गोल गरे। सलाहले २६ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाए भने ४० औं मिनेटमा लोभ्रेनले लिभरपुलको अग्रता दोब्बर पारे। दोस्रो हाफमा सोलाङ्केले ५३ औं र रोबर्ट्सनले ८५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई सहज जित दिलाए।
पाँचौ स्थानमा रहेको चेल्सीभन्दा अंक तालिकामा माथि अन्त्य गर्न लिभरपुललाई बराबरीमात्र काफी थियो। तर चेल्सी न्युकासल युनाइटेडसँग सिजनको अन्तिम खेलमा ३-० ले पराजित भएपछि पाँचौ स्थानमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगबाट बन्चित भएको हो। चेल्सीले युरोपा लिगमा प्रतिस्पर्धा गर्नेछ।
अन्तिम दिनको अन्य खेलमा आज टोटेनह्यामले लेस्टरलाई हाइ स्कोरिङ खेलमा ५-४ ले पराजित गरेपछि तेस्रो स्थानमा लिग अन्त्य गरेको छ। पहिलो स्थानमा म्यानचेस्टर सिटी, दोस्रोमा युनाइटेड, तेस्रो टोटेनह्याम र चौथो लिभरपुलले अर्को सिजन सोझै च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउने छन्।
त्यस्तै स्वान्सी सिटी, स्टोक र वेस्ट ब्रम इङ्लिस लिगको दोस्रो डिभिजनमा झरेका छन्।

Leave a Reply

%d bloggers like this: