Fri. Mar 29th, 2024
काठमाडाैं । ६ बैशाख – नेपाली बहुचर्चित नायिका करिश्मा मानन्धर  ९ कक्षा उत्तिर्ण भएर १० कक्षा मा पुगेकी छिन् । मैतिदेवीस्थित त्रिवेणी स्कुलमा पढिरहेकी उनले अब सोही स्कुलबाट एसईई परिक्षा दिनेछिन् ।
करिश्माले आफूले सोचेभन्दा राम्रो रिजल्ट आएको  बताएकी छिन् । ‘पास हुन्छु भन्नेमा त शंका थिएन, तर माक्र्स कस्तो आउँछ भन्ने खुल्दुली थियो, जे होस सोचेभन्दा राम्रो आएको छ,’ उनले भनिन् । उनले आफ्नो डिभिजन भने खुलाएकी छैनन् ।
करिश्माले समग्रमा कक्षा नौको पढाई रमाइलोसँग सकिएको  बताएकी छिन् । ‘मेरो लागि धेरै च्यालेञ्जिङ थियो, जे होस एक कक्षा माथि उक्लेकोमा खुशी छु,’ उनले भनिन्, ‘अब अर्को वर्ष एसईई दिनुछ, त्यसैले झनै मिहिनेत गरेर पढ्नेछु ।’
 
करिश्मा १४ वर्षको उमेरमा ८ कक्षा पढ्दापढ्दै पढाई छाडेर अभिनयमा होमिएकी थिइन् । त्यतिबेला टुटेको पढाईलाई ३० वर्षपछि जोड्दै उनी ४४ वर्षको उमेरमा विद्यालय भर्ना भइन् । र, मन लगाएर पढिन् ।
फिल्म र राजनीतिमा समेत संलग्न उनले पछिल्लो समय पढाईलाई पहिलो प्राथमिकता दिएकी छिन् । सकभर नियमित स्कुल जाने उनी आफूले नजानेको कुरा छोरीभन्दा कम उमेरका बालबालिकासँग सोध्न लजाउँदिनन् ।
‘नजानेको कुरा प्राय कक्षाको प्रथम व्वाईसँग सिक्छु,’ उनी भन्छिन् । करिश्मा अनौपचारिक पोशाक लगाएर स्कुल जान्छिन् । अरु विद्यार्थीले उनलाई ‘करिश्मा म्याम’ भनेर बोलाउँछन् ।
करिश्माले गत वर्ष आठ कक्षाको जिल्लास्तरीय परिक्षा उत्तिर्ण गरेकी थिइन् । उनको सेन्टर ग्यालेक्सी स्कुलमा थियो । परिक्षाको पहिलो दिन त्रिवेणी स्कुलका प्रिन्सीपल आफैं ग्यालेक्सी स्कुलसम्म उनलाई पुर्‍याउन गएको करिश्माले बताइन् । आफ्नो स्कुलमा राम्ररी घुलमिल भइसकेकी करिश्मालाई ग्यालेक्सीमा परिक्षा दिन जाँदा भने सकस भएको थियो ।
‘पहिलो दिनको परिक्षामा अरु स्कुलका बच्चाहरुसँग बेन्चमा बस्दा मेरो आँखाबाट बर्बरी आँशु झरे,’ उनी भन्छिन् ।

 
onlinekhabar.com बाट साभार

Leave a Reply

%d bloggers like this: