Thu. Mar 28th, 2024
काडमाडाैं । ३ बैशाख – पछिल्लो समय मिस नेपालहरुको फिल्मी मोह खुब बढेको छ । तर, प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान, मलिना जोशीसम्मको फिल्मी यात्रा भने त्यति राम्रो भएन ।
अनमोल केसी स्टार फिल्म ‘गाजलु’ बाट भित्रिएकी सृष्टि श्रेष्ठलाई भने फिल्म केही फापेको जस्तो देखिएको छ । तर, उनको दोस्रो फिल्म कहिले आउँछ अझै अन्योलमै छ । यसैबीच, २०१७ की मिस नेपाल निकिता चण्डकले पनि फिल्ममा डेब्यु गरेकी छिन् ।
उनले गर्ने फिल्मको नाम हो ‘रानीमहल’ । यसअघि उक्त फिल्ममा अभिनेत्री वर्षा सिवाकोटी फाइनल भएकी थिइन् । उनले फिल्मबाट हात झिकेपछि निकिता भित्रिएकी हुन् । सम्भवतः पहिलो पटक मिस नेपालको १ वर्षे कार्यकाल सकिए लगत्तै फिल्ममा भित्रिने उनी पहिलो हुन् ।
खबरअनुसार, आइतवार उनीसँग निर्माण टिमले औपचारिक कागजी सम्झौता गरिसकेको छ । केही दिन भित्रै निकिताले वर्कशप ज्वाइन गर्ने बताइएको छ । फिल्मका लागि उनको पहिरन तयार गरेर छायांकनमा जाने तयारी निर्माण पक्षको छ ।
यस्तै, प्रशान्त ताम्राकारको ठाउँमा निर्माण टिमले पुराना नायक अर्जुनजंग शाहीलाई अनुबन्धित गरेको छ । साइन गरिसकेपछि प्रशान्तले पनि यो फिल्म बीचमै छाडेका थिए ।
हिमाल न्यौपानेले निर्देशन गर्ने फिल्म रानीमहल’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताइएको छ । यसमा प्रेमसँगै अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिने निर्माण पक्षको भनाई छ ।

Leave a Reply

%d bloggers like this: