Thu. Mar 28th, 2024
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण हुन लागेको फिल्म ‘नालापानी’ को यतिबेला राजधानीका विभिन्न स्थानहरुमा छायांकन भईरहेको छ ।
शुक्रबार नारायणहिटी दरबार संग्राहलयको उत्तरमा रहेको नेपाल आर्मीको गोरख गणको मैदानमा फिल्मको भव्य रुपमा छायांकन गरिएको छ । शुक्रबारको सेड्युलमा नेपालीसँग युद्द लड्न अंग्रेज फौज आउँदै गरेको दृश्य खिचिएकाे छ ।
नेपाल आर्मीबाट प्राप्त झण्डै पचास वटा घोडा र करिब ३ सय हतियार सहितका फौज मैदानमा उतारिएको थियो, जसलाई भिएफएक्सको माध्यमबाट हजारौँको संख्या देखाईने निर्देशक रिमेश अधिकारीले बताए ।
उक्त दृश्य छायांकनमा पाँच वटा क्यामेरा प्रयोग गरिएको थियो । भिएफएक्सको अधिक प्रयोग हुने यस फिल्मका सम्पूर्ण दृश्य छायांकनमा फिल्मका सम्पादन टीम तथा भिएफएक्स टीम सँगै रहेर काम गरिरहेका छन् ।
निर्देशक अधिकारीले नेपाल आर्मीको सहयोग र साथ बीना यस प्रकारले फिल्म छायांकन गर्न सम्भव नरहेको बताए । ‘नेपाल आर्मीले हामीलाई दिएको सहयोगप्रती हामी कृतज्ञ छौँ । सम्भवत नेपालमा कुनै पनि फिल्म यस प्रकारले छायांकन गरिएको थिएन, यो सबै नेपाल आर्मीकै देन हो’ ।
फिल्मका निर्माता मनोज शाक्यले नेपालीको विर गाथासँग जोडिएको फिल्मलाई नेपाल आर्मीले साथ दिएकोमा खुशी व्यक्त गरे ।
काठमाडाैं र आसपासमा छायांकन सकिएपछि फिल्म यूनिट उपरदाङ्ग गढी पुग्ने छ । निर्देशक अधिकारीका अनुसार फिल्मको छायांकन करिव तीन महिना सम्म लगातार चल्नेछ ।
प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित नालापानी बनिरहेको छ । करिब ९ करोडको लागतमा बन्दै गरेको ‘नालापानी’ रिलिजपश्चात् नेपालकै महँगो फिल्म हुनेछ।
‘नालापानी’ मा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
पद्मा कुमारी फिल्मस प्राली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बन्ने यस फिल्ममा मजोन शाक्य र नितिशा शाक्य निर्माताको रुपमा रहेका छन् ।
फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् । बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गर्ने यस फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरिरहेका छन् ।

Leave a Reply

%d bloggers like this: