Wed. May 1st, 2024

‘प्रेमगीत २’ यही शुक्रवारबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ । वर्ष २०७२ को हिट फिल्म ‘प्रेमगीत’को सिक्वेल भएका कारण पनि यतिबेला ‘प्रेमगीत २’को प्रतिक्षा व्यापक भैरहेको छ ।
साउन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मको रिलिज अगाडि नै पोखरा र बुटवलमा प्रिमियर गरिएको छ । पोखरा घरेलु फिल्मका लागि दोस्रो ठूलो बजार हो भने बुटवल चौंथो । यसैले पनि ‘प्रेमगीत २’ले दुई थलोबाट पाएको दर्शक प्रतिक्रियाले ठूलो अर्थ राख्छ । दुबै थलोमा ‘प्रेमगीत २’ले मीठो प्रतिक्रिया बटुलेको छ ।
क्यूएफएक्स पोखरा र भ्यूज बुटवल हलमा आयोजना गरिएको प्रिमियरमा अभिनेता प्रदीप खड्का, अभिनेत्री अश्लेषा ठकुरी, निर्देशक रामशरण पाठक, निर्माता एवं डेब्यु अभिनेता सन्तोष सेन सहभागि थिए । प्रिमियरमा फिल्मले पाएको दर्शकहरुको प्रतिक्रियाबाट उत्साहित देखिएका निर्देशक पाठकले दर्शकीय सन्तुष्टि र प्रतिक्रियाबाट आफूहरुलाई थप ऊर्जा मिलेको बताए । प्रिमियरमा प्रदीप क्रेज पोखियो । उनलाई आफ्नो क्यामेरामा कैद गर्न दर्जनौ यूवतीहरुको भिड लागेको थियो । युवाहरुको फेसबुक समूह मेन्स रुम रिलोडेड (एमआरआर)ले प्रिमियर आयोजनाका लागि पहल गरेको थियो । समूहले प्रदर्शनीका लागि च्यारिटी गर्दै संकलित रकम अनाथ बालबालिकालाई शिक्षा प्रदान गर्ने कार्यमा खर्च गरिने पोखरा एमआरआर प्रमुख सुवास शर्माले बताए ।

म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध ‘प्रेमगीत २’ को कथावस्तु हो । रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

Leave a Reply

%d bloggers like this: