Sat. Apr 20th, 2024

आइतबार राजधानीमा एक कार्यक्रमका बीच नम्रता श्रेष्ठ र कोशिश क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म ‘पर्व’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । थ्रिलर हरर जनरामा निर्माण भएको फिल्मको ट्रेलरमा नायक कोशिश क्षेत्री लेखकको भूमिकामा देखिएका छन् भने नम्रता श्रेष्ठलाई मानसिक रोगीको भूमिकामा देख्न सकिन्छ । ‘मोक्ष’ फिल्मबाट नेपाली रजतपटमा भित्रिएका नायक कोशिश क्षेत्री र यसअघि नै दर्जनौ सफल फिल्म दिइसकेकी नायिका नम्रता श्रेष्ठले पहिलो पटक ‘पर्व’ मार्फत एकसाथ स्क्रिन शेयर गरेका हुन् । आफ्नो भूमिकाको विषयमा पत्रकारहरुलाई बताउँदै नायक क्षेत्रीले भने,मैले फिल्ममा एक लेखकको भूमिका निर्वाहा गरेको छु, जो मानसिक रोगी आफ्नी प्रेमिकालाई हरेक पल साथ दिने गर्छ ।’त्यस्तै, नायिका नम्रता श्रेष्ठले फिल्म ‘पर्व’ उत्कृष्ट बनेको दावी गरिन् । फिल्ममा सुवास गिरी र निकिता पौडेलको लगानी रहेको छ । कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा विकास सुवेदी एसोसियट निर्देशकको रुपमा रहेका छन् ।
‘पर्व’ को विषयमा बोल्दै निर्देशक दिनेश राउतले भने, ‘पहिलो पटक थ्रीलर, सस्पेन्स र हरर फिल्म निर्देशन गरेको छु अब मैले कस्तो काम गरेको छु भन्ने थाहा पाउन त ‘पर्व’ हलमा लागेपछि मात्र थाहा होला ।’ दिनेशले यस अगाडि ‘आइ एम सरी, नोभेम्बर रेन, क्लासिक’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । फिल्ममा कोशिश र नम्रताका अलवा माला लिम्बू, अमितेष शाह, प्रिया रिजाल, श्रीयन्स तिमिल्सिना लगायतका कलाकारहरु पनि अभिनय रहेको छ । फिल्ममा कोशिश क्षेत्री र राजन राज सिवाकोटीको संगीत, दिनेश राउत र सिवाकोटीकै शब्द छ । निश्चल बस्नेत, मिना निरौला, केतन क्षेत्री र राजनराज सिवाकोटीले गीतमा स्वर रहेको छ । ट्रेलर रिलिज अगावै सार्वजनिक भएको ‘पर्व’ को ‘काले दाई’ बोलको आइटम गीतले युटुबमा ९० लाख बढी भ्यू पाइसकेको छ ।

Leave a Reply

%d bloggers like this: