Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
आफ्नो २५ बर्ष लामो करिअरमा नायक राजेश हमालले कमै मात्र संझनलायक भूमिकामा काम गरेका छन् । राजेशले प्राय चलचित्रमा गरिब बनेर धनी खलपात्रलाई कुटेका छन् ।
निर्देशक दीनेश श्रेष्ठले राजेशलाई पहिलो पटक फरक भूमिकामा देखाउँदै चलचित्र ‘शकुन्तला’ बनाएका हुन् । यो चलचित्रमा राजेश हमालले सारी र ब्लाउज लगाएर खलपात्रसँग लडाई लडेका छन् । हमालको एक्सनको शैली उही नै छ, तर तरिका फरक ।
हमालले हरेक नारीको सम्मानका लागि भन्दै चलचित्रमा संवाद बोलेका छन् । हुनत, अहिले चलचित्रको प्रचारका लागि नायक हमाल सहभागी छैनन् । तर, भदौ १० गतेबाट रिलिज हुने यो चलचित्रको प्रचारमा हमाल सहभागी हुने दाबी यसका निर्माताको छ ।
चलचित्रमा उनको साथमा किशोर खतिवडा, अनु शाह, रविन्द्र बस्नेत लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई महेश्वर खत्री र श्रृप्सा खत्रीले मिलेर बनाएका हुन् । दुबै निर्माता चलचित्र चल्नेमा ढुक्क छन् । कथावस्तु र प्रस्तुती नै उत्कृष्ट भएकाले चलचित्र चल्ने दाबी निर्माता खत्रीले गरे ।
हमालका कुनै पनि चलचित्र पछिल्ला केही बर्षयता चलेका छैनन् । यसैले यो चलचित्रको इनिसियल व्यापारमा उनको स्टारडम पनि महत्वपूर्ण रहनेछ ।
निर्देशक दिनेश श्रेष्ठ राजेश हमालको भूमिका दर्शकका लागि सरप्राइज हुने बताउँछन् । हिन्दु महिलाहरुको महान चाड हरितालिक तीजका अवसर पारेर रिलिज हुने भएकाले पनि यो चलचित्र हेर्न महिला दर्शक हलमा आउने उनको वुझाई छ । साथमा राजेश हमालका फ्यानका लागि पनि चलचित्र विशेष आकर्षणमा रहने दिनेशले दाबी गरेका छन् ।

Leave a Reply

%d bloggers like this: